बाबुराम कार्की
वराहक्षेत्र, साउन ७ गते । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मिचाहा प्रजातिका झार र लहराको अतिक्रमण बढ्दा वन्यजन्तुको आहारामा कमी आउन थालेको छ । आरक्षको सिम क्षेत्र र जङ्गलमा मिचाहा झार र लहरा बढ्दै जाँदा वन्यजन्तुको आहारामा कमी आउन थालेको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षक अधिकृत भूपेन्द्रप्रसाद यादवले भन्नुभयो, “आरक्ष क्षेत्रमा व्यापक रूपमा फैलिएको मिचाहा प्रजातिका झार र लहराले वन्यजन्तुको आहारा, स्वास्थ्य, पर्यावरण र जैविक विविधतालाई नै असर पु-याइरहेको छ ।”
वरिष्ठ संरक्षक अधिकृत यादवका अनुसार नेपालकै पहिलो रामसार सूचीमा सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्षको सिमसार क्षेत्रमा मिचाहा झार फैलँदा सिमसारको अस्तित्व नै सङ्कटमा परेको छ । आरक्ष जङ्गल क्षेत्रमा रहेका रुखबिरुवालाई मिचाहा प्रजातिका लहराले ढाक्दा रुखबिरुवाको वृद्धि विकास कमी हुँदै गएको छ । रुखबिरुवा कमी हुँदा आरक्षका वन्यजन्तुलाई पर्याप्त मात्रामा आहारा पुग्दैन र ती पनि सङ्कटमा पर्न थाल्छन् ।
आरक्ष क्षेत्रमा वनमारा, गन्धे झार, जलकुम्भी जस्ता झार फैलिएका छन् । रैथाने वनस्पतिभन्दा छिटो वृद्धि र परिपक्व हुने, जरा, काण्ड, पात, बिउ आदिबाट सजिलै सर्ने हुँदा यसको प्रकोप ज्यादा भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।
खाली क्षेत्र, घाँसे मैदान, जङ्गल, सिम क्षेत्रमा बढी पाइने मिचाहा प्रजातिका वनस्पतिको रोग प्रतिरोधात्मक क्षमता पनि बढी हुने भएकाले प्रतिकूल हावापानीमा समेत छिटो फैलन सक्ने आरक्षका वरिष्ठ संरक्षक अधिकृत यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “प्रतिकूल स्थानमा समेत फैलने यस्ता वनस्पतिका लागि आरक्षको वातावरण ज्यादै अनुकुल भएकाले आरक्षमा बढी प्रकोप रहेको छ ।” आरक्षको जैविक विविधता र पारिस्थितिकीय प्रणालीका लागि ठुलो खतरा बनेको उहाँको भनाइ छ ।
आरक्षमा रहेका संरक्षित सङ्कटापन्न वन्यजन्तुसमेत मिचाहा प्रजातिका झारको चपेटामा परेका छन् । मिचाहा प्रजातिका झारले चरन क्षेत्र ढाक्ने, वन्यजन्तु आवतजावत गर्ने बाटो ढाक्ने र बसोबास क्षेत्रसमेत ढाक्दा तिनीहरू पनि मारमा परेका छन् । चरन क्षेत्रमा रैथाने घाँसका लागि आवश्यक पर्ने प्रकाश र तापव्रmम नपुग्दा घाँसे मैदान घट्दै गएका कारण आश्रित वन्यजन्तुको आहारामा कमी आउन थालेको छ ।
रामसार सूचीमा सन् १९८७ मा सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्षमा विभिन्न प्रजातिका पन्छी, माछाका प्रजाति, सङ्कटापन्न सोस र घडियाल गोहीलगायतका जलीय र स्थलीय प्राणीको वासस्थान रहेको छ । मिचाहा प्रजातिका झारले पानीको स्रोतलाई समेत सुकाउने हुँदा सिम क्षेत्रमा आश्रित जीवलाई पनि असर पुर्याउँदै आएको छ । चराको राजधानीका रूपमा परिचित आरक्षको सिम क्षेत्रलाई जलकुम्भीलगायतका मिचाहा प्रजातिका झारले ढाक्दा जलीय पक्षीको वासस्थान र चरन क्षेत्रमा समस्या हुँदै गएको चराविद् अनिश तिम्सिना बताउनुहुन्छ ।
यस्ता झारले ढाक्दा ताल साँघुरिँदै गएको, सिम क्षेत्रको दलदल जमिनमा फैलिएर पानी सुकाउने र पानीको सतहलाई ढाकेर सूर्यको प्रकाशलाई छेक्दा पानीभित्रको रैथाने वनस्पतिसमेत मर्दै गएको बताइन्छ । आरक्ष क्षेत्रमा जलकुम्भी, सेतो वनमारा, कालो वनमारा, लहरे वनमारा, वनफाँडा, लुँडेकाँडा, लज्जावती, गन्धे, निलो गन्धे, जलजम्बु, थाकल, कालोकुरो, फुलेझार, चित्लाङ्गे, वनसिलाम, बेसरम, करौँतेघाँस, चरीअमिलो झार, पातीझार, कुम्भिका आदि मिचाहा प्रजाति पाइन्छन् ।