• १६ असार २०८१, आइतबार

डुंगा प्रतियोगितामा चन्द्र र जीवन पहिलो

blog

खुला डुंगा प्रतियोगितामा विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, असार ६ गते । नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो हुनुभएको छ । चन्द्र र जीवनले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गर्नुभएको थियो । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी १ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र नेपाल माझी उत्थान संघ, सिन्धुलीका दीपक माझी र साजन माझी १ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गर्दे तेस्रो हुनुभयो । 

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । रामेछापको मन्थलीस्थित सेलेघाटमा भएको प्रतियोगिताको डबल्समा नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी, जीवन माझी, जितेन्द्र माझी र भेषबहादुर माझी पहिलो हुनुभया । 

नेपाल माझी उत्थान संघ, रामेछापका रामबाबु माझी, कुश्मान माझी, काले माझी र भरत माझी दोस्रो तथा नेपाल माझी उत्थान संघ, रामेछापका सन्तोष माझी, बलबहादुर माझी, शान्ति माझी र कुमार माझी तेस्रो हुनुभयो । डबल्सतर्फ विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

एकदिने प्रतियोगितामा एक सय खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको राखेप सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्दै पराम्परागत खेलको जर्गेना गर्ने उद्देश्यले राखेपले प्रतियोगिता आयोजना गरेको बताउनुभयो । विजेतालाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।