कालीकोट समाचारदाता
कालीकोट, साउन ६ गते । कालीकोट सदरमुकाम मान्म बजारमा पिउने पानीको समस्या जस्ताको तस्तै छ । चुलीहिमालको बृहत् खानेपानी आयोजना सम्पन्न भएको भनिए पनि सदरमुकाम मान्ममा पिउने पानीको समस्या सधैँ उस्तै हुने गरेको छ ।
जीर्ण खानेपानीको लाइन, पहिरो जाने ठाउँ र मुहान खुला भएकाले पातपतिङ्गर बगेर पाइप थुनिएपछि पानी नियमित हुन नसक्दा अभाव कायमै भएको हो । यस्तै केही पहुँचवालाले पानी ट्याङ्कीबाटै पाइप तानेर लिने भएकाले पनि अन्य उपभोक्तालाई पिउने पानीको हाहाकार हुने गरेको छ । सदरमुकाममा बसाइ बाक्लो भएदेखि नै पानीको अभाव हुँदै आएको छ । मान्मका होटल व्यवसायी धनबहादुर बटालाले पिउने पानीको समस्या पहिलादेखि उस्तै रहेको बताउनुभयो । उहाँले अहिले सदरमुकाम मान्ममा बजार बढेको बेला पनि पानीको समाधान हुनुपर्नेमा अभाव चुलिएको उहाँको भनाइ छ । बृहत् खानेपानी आयोजना सम्पन्न भएर निर्माण व्यवसायीले भुक्तानीसमेत लिइसकेको भए पनि पानी नियमित छैन । पिउने पानी अभावले दैनिक यहाँका नागरिक काकाकुल बन्दै छन् । हिउँदमा पानीको स्रोत सुक्यो, बर्सातमा पानीको लाइन पहिरोले लियो भन्ने जस्ता जवाफ खानेपानी आपूर्ति गर्दै आएको समितिले भनी टार्दै आएको स्थानीयको गुनासो छ । मान्मका नन्दबहादुर शाहीले मासिक १५० रुपियाँका दरले बिल मात्र भुक्तानी लिने गरेको तर पानी आपूर्ति भने नगरेको गुनासो गर्नुभयो ।
खानेपानी आपूर्तिका लागि खानेपानी उपभोक्ता समितिको नियमन तथा रेखदेख गर्दै आएको खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज टमटा (ताम्राकार) ले उपभोक्ता समितिले राम्रो काम नगरेका कारणले पानी नपाएर नागरिक छटपटिएको बताउनुभयो ।