• ६ साउन २०८२, मङ्गलबार

रौतहटमा ४५ फिट अग्लो महादेवको मूर्ति अनावरण

blog

पौराई ब्रहमस्थान परिसरमा निर्माण गरिएको महादेवको मूर्ति । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन ६ गते ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराइ मन्दिर परिसरमा नव निर्मित ४५ फिट अग्लो महादेवको मूर्ति अनावरण गरिएको छ । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्ले र रौतहट क्षेत्र नं. ४ का निर्वतमान प्रदेशसभा सदस्य धनलाल ठोक्करले सोमबार सो मूर्तिको अनावरण गर्नुभएको वडा नम्बर १ का वडा अध्यक्ष बलराम राउतले जानकारी दिनुभयो ।

धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको पौराई ब्रहमस्थान परिसरमा महादेवको मूर्ति निमार्णले धार्मिक पर्यटकहरुलाइ थप आकर्षित गर्ने नगर प्रमुख काफ्लेले बताउनुभयो ।

विसं. २०७५ सालमा शुरु भएको महादेवको मूर्ति निमार्ण कार्य विभिन्न कारणले  ढिला भएको र अहिले आएर सम्पन्न भएको निमार्ण समितिका अध्यक्ष रुपेश पण्डितले जानकारी दिनुभयो । मधेश प्रदेश सरकार र चन्द्रपुर नगरपालिकाको सहयोगमा करिव ७६ लाखको लागतमा महादेबको मूर्तिको निर्माण कार्य पूरा भएको निमार्ण समितिका अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस रौतहटका सचिव  मिथिलेश  मिश्रले चन्द्रपुरमा पर्यटकियस्थल धेरै रहेकाले यसको संरक्षण संवर्धनमा नगरपालिकाले गुरु योजना बनाएर कार्यान्वयन गर्नु पर्ने बताउनुभयो ।

४५ फिट अग्लो महादेवको मूर्ति पौराइ क्षेत्रका लागि आकर्षणको केन्द्र बनेको र यसले यहाँको पर्यटनमा थप टेवा पुर्याउने नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा रौतहट जिल्ला कार्यसमिति कोषाध्यक्ष सरस्वति गिरीले बताउनुभयो ।

यस अघि सो स्थानमा रहेको ३२ फिट अग्लो महादेवको मूर्ति २०७२ सालको भूकम्पमा ढलेको थियो  ।