• ७ साउन २०८२, बुधबार

‘सायद किनाराहरू’ सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते । कवि उमेश अकिञ्चनको नयाँ कवितासङ्ग्रह ‘सायद किनाराहरू’ लोकार्पण गरिएको छ । रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षिजित, विमला तुम्खेवा, अभिनेता जीवन लुइँटेल र समीक्षक राजकुमार बानियाँले कवितासङ्ग्रह संयुक्त रूपमा विमोचन गर्नुभयो ।

सो अवसरमा रक्षामन्त्री राईले कविता र कविले समाज रूपान्तरणमा गम्भीर भूमिका खेल्ने बताउँदै भन्नुभयो, “कविहरू आफू मात्रै नभई समाजलाई नै सचेत गराउँछु भनेर क्रान्तिकारी सोच लिएर हिँडेका हुन्छन् । देशलाई सही दिशामा ल्याउन कवि–साहित्यकारको इतिहासदेखि नै योगदान छ ।” 

“कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर आएको छ,” श्रवण मुकारुङले भन्नुभयो, “कविता कुनै धारणाभित्र मात्रै सीमित रहँदैन, किनकि कविता आविष्कार हो ।” साहित्यकार तुम्खेवाले तीन दशकदेखि कविताकर्ममा तल्लीन कवि अकिञ्चनका कविताले समयको कुरूप पक्षमाथि प्रहार गरे पनि ती अत्यन्तै शालीन ढङ्गले लेखिएको बताउनुभयो ।