• २ साउन २०८२, शुक्रबार

लमजुङमा ७५ प्रतिशत रोपाइँ

blog

लमजुङको घेर्मुफाँटमा धान रोपाइँ गर्दै किसानहरु । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, साउन २ गते । असार महिना सकिँदासम्म लमजुङमा ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जेठ अन्तिमदेखि धान रोपाइँ भए पनि यसवर्ष पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ भएको हो । 

जिल्लामा कुल ६१ हजार ८१९ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ९ हजार २९९ हेक्टरमा धान खेती हुने गर्दछ । जसमध्ये ६ हजार ८०० हेक्टरमा धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।  

ज्ञान केन्द्रका सूचना अधिकारी सरोज थापाका अनुसार मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिकामा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै, मस्र्याङ्दी गाउँपालिकामा ८७ प्रतिशत, दुधपोखरी गाउँपालिकामा ८० प्रतिशत, दोर्दी गाउँपालिकामा ७० प्रतिशत, राईनास नगरपालिकामा ६१ दशमलव १५ प्रतिशत, बेँसीसहर नगरपालिकामा ५२ प्रतिशत र सुन्दरबजार नगरपालिकामा ४८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

सिँचाइ भएका खेतहरुमा जेठ महिनाको अन्तिम साताबाट धान रोप्न सुरु गरिएको थियो। लुमजुङका ठूला–ठूला फाँटहरु राइनासटार, धमिलिकुवा, भलाखर्क, चक्रतीर्थ, रामचोकबेंसी, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, परेवाडाँडा, सुन्दरबजार, सत्रसयलगायतका स्थानमा पनि धमाधम रोपाई भइरहेको छ । सिँचाइ सुविधा नपुगेको ठाउँमा अझै पनि किसानहरुमा भलपानी पछ्याउनुपर्ने बाध्यता छ। मौसमले साथ दिए आउँदो वर्ष धान उत्पादन बढ्ने कृषि प्राविधिकहरुले अनुमान गरेका छन् । 

किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । 

जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् । किसानहरुले पानी कम हुने ठाउँमा भने  सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाउने गरेका छन् ।