• २ साउन २०८२, शुक्रबार

जापान र इयूका अधिकारीबिच शिखर वार्ता हुने

blog

टोकियो, साउन २ गते । जापान र युरोपेली सङ्घ (इयू) बिच अर्को साता शिखर वार्ता हुने भएको छ । सम्मेलनमा युरोपेली सङ्घ (इयू)का प्रमुख उर्सुला भोन डेर लेयेन सहभागी हुने अपेक्षा गरिएको छ ।

सम्मेलनमा जापानका प्रधानमन्त्री शिगेरु इशिबा, इयूका प्रमुख भोन डेर लेयेन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाबीच भेटवार्ता हुने कार्यक्रम रहेको जापानको विदेश मन्त्रालयले जनाएको छ । तीनै जनाले राष्ट्रिय सुरक्षा, अर्थतन्त्रलगायत विषयमा छलफल गर्ने छन् ।

अन्तर्राष्ट्रिय समाजले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न महत्वपूर्ण रणनीतिक साझेदार रहेको युरोपेली सङ्घसँग जापानको सम्बन्धलाई माथि उकास्ने अवसरका रूपमा यस बैठकलाई मन्त्रालयले व्याख्या गरेको छ । यसैबिच, शिखर सम्मेलनमा दुई पक्षले संयुक्त वक्तव्य जारी गर्दै नयाँ ‘इकोनोमिक टु प्लस टु डायलग’ सुरु गर्ने घोषणा गर्ने व्यापार दैनिक निक्केईले बिहीबार जनाएको छ ।

नयाँ संवादअन्तर्गत दुर्लभ सामग्रीको खरिदमा चीनमाथिको निर्भरता कम गर्न चाहने जापान र इयूले संयुक्त सार्वजनिक–निजी परियोजनाको खोजी गर्ने छन् । अहिलेसम्म जापानका आर्थिक र विदेशमन्त्रीहरूले इयूका शीर्ष व्यापार वार्ताकार मारोस सेफ्कोभिकलाई भेटेका छन्, तर नयाँ ‘टू प्लस टू’ वार्तामा उद्योग प्रमुख स्टेफन सेजोर्न पनि सहभागी हुनुहुने निक्केईले जनाएको छ । भोन डेर लेयेन र कोस्टा जापानापछि चीन जाने छन् । रासस/एएफपी