मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) साउन २ गते। जिल्लाको सिमकोट गाउँपालिका-१ को दोजाम स्थित बैजीबाडामा ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। १५ जना सवार रहेको सो ट्याक्टर शुक्रबार अपरान्ह दुर्घटना भएको हो।
सिमकोट गाउँपालिका–१ को दोजामबाट सदरमुकाम सिमकोट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा १३ घाइते भएका हुन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो।
प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार १५ जना सवार रहेको कर्णाली प्रदेश ०२००१ त ०३५३ नम्बर ट्याक्टर दोजाम बैजीबाडा नजिक दुर्घटना भएको हो।