• २ साउन २०८२, शुक्रबार

सङ्कलनभन्दा रगतको माग अत्यधिक

blog

रगत अभाव हुन नदिन केही दिनअघि नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जमा रक्तदान गरिदैं । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, साउन २ गते । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगञ्जमा गत आर्थिक बर्ष २०८१–८२ मा १५ हजार ८९३ पिन्ट रगत विभिन्न दाताहरुबाट सङ्कलन भएको थियो । 

सोही अवधिमा २३ हजार १९६ पिन्ट रगत वितरण गरिएको वितरण केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । अघिल्लो आव २०८०–८१ मा आव २०८१–८२ मा सङ्कलन भएको रगत बढी भए पनि माग पनि बढेको पाइएको छ । 

बाँकेमा भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्त सञ्चार केन्द्रमार्फत रगत सङ्कलन र वितरणको कार्य हुँदैआएको छ । 

 सङ्कलित रगतमध्ये अधिकांश नेपालगञ्जका भेरी अस्पताल र शिक्षण अस्पतालमा खपत हुने गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्रका प्रमुख रेग्मीले भन्नुभयो, ‘पछिल्लो दिनमा रक्तदान गर्नेको सङ्ख्या बढे पनि माग अत्यधिक भएका कारण पुगाउन कठिन हुने गरेको छ ।’

कार्यालयका जनसम्पर्क अधिकृत सरिता सिंहका अनुसार गत आवमा नेपालगञ्जमा ११ हजार ८ पिन्ट रगत सङ्कलन भएकोमा १५ हजार ९०० पिन्ट रगत विभिन्न बिरामीलाई उपलब्ध गराइएको छ । यसैगरी कोहलपुरमा चार हजार १६ पिन्ट रगत सङ्कलन भएकोमा पाँच हजार १७४ पिन्ट वितरण भएको छ । 

खजुरामा ८६९ पिन्ट रगत सङ्कलन भएकोमा दुई हजार १२२ पिन्ट रगत बिरामीलाई उपलब्ध गराइएको छ । रक्तसञ्चार केन्द्रले गत बर्ष सङ्कलन गरेको रगतमध्ये चार हजार २०० पिन्ट प्याकसेल (आरबिसी), दुई हजार १५२ प्लेटनेट (पिआरपी) र ८६३ पिन्ट (एफएफपी) भएको जनाएको छ ।