• २ साउन २०८२, शुक्रबार

साउने सङ्क्रान्ति राँको बालेर लुतो फालियो

blog

छायाँनाथ रारा नगरपालिका– ५ को कार्की गाउँका स्थानीयले घरको छतमा राँको बालेर साउने सङ्क्रान्ति मनाँउदै । तस्बिर : हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी
मुगु, साउन २ गते ।
हिमाली जिल्ला मुगुमा हरेक वर्ष झैँ यस वर्ष पनि परम्परागत चाडपर्वका रुपमा मनाउँदै आएको साउने सङ्क्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाइएको छ ।

छायाँनाथ रारा नगरपालिका– ६ का ज्येष्ठ नागरिक कर्णबहादुर ऐडीका अनुसार गाउँमा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँको बाल्दै सङ्क्रान्ति मनाएका छन् । उहाँले भन्नुभयो, ‘‘हाम्रो गाउँहरुले परम्परागत रुपमा राँको बाल्दै गरेको आफ्नो घरको राँको अर्को गाउँका मानिसहरुलाई गाली गर्दै मनाइन्छ ।’’

हरेक वर्ष साउन १ गते का दिन बेलुकी झिसमिसेमा मुगुका बस्तीहरुमा यसपटकको साउने सङ्क्रान्तिका दिनमा राँकाेले उज्यालो पारेका छन् । हिमाली जिल्लाको परम्परा अनुसार हरेक घरमा जति परिवार सदस्य छन त्यति नै राँको बालेर आ आफ्नो छत तथा आँगनमा आफू र आफ्नो घरमा रहेको लुतोपाउँडो लैजा, दाङ देउखुरीको समूह आइजा,  रोग व्याधि सबै जावस् भन्ने कामना अनुसार राँको बाल्ने चलन मुगुसहित कर्णाली क्षेत्रमा रहेका ज्येष्ठ  नागरिक ऐडीको भनाइ छ ।

हरेक वर्ष साउन १ गते नेपालको पर्यटकीय स्थल रारा तालमा स्थानीय देउडा भाकामा  साउने सङ्क्रान्तिको मेला मनाइन्छ । मुगुमा परपरागत रुपमा यो संस्कृतिले एक फरक सभ्यता र पर्यटकीय क्षेत्रमा उदाहरण स्थापित गर्दै आएको छ । आगोको राँकोले वित्तिकै जस्तो उज्यालो हुने, ठुलो स्वरले घरका सबै परिवारहरुले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन छ । राँको बाली सकेपछि बनाइएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ । राँको बाल्ने समयमा  दमाहा, ताल समेत बजाउने चलन छ ।

समाजसेवी रुपबहादुर मल्लका अनुसार जिल्लाको सदरमुकाम र जिल्लाका गाउँबस्तीहरुमा एकैपटक आगोको राँको बालेर साउने सङ्क्रान्तिको सन्देश दिने चलन अहिले पनि जीवित छ । करिब १ घण्टा गाउँका बस्तीहरु झलमलिएका हुन्छन् ।  एकै पटक सबैको घरमा परिवार सदस्य अनुसारको हजारौँ राँकाे बालेर हेर्दाको दृश्य अच्चमित हुने गरेको छ ।

मल्लले भन्नुभयो, ‘‘परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठुलो सभ्यता बोकेको छ ।’’ साउन १ गते यो क्षेत्रमा स्थानीय बिदा समेत गर्ने चलन रहि आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्रअनुसार साउन १ गते बिदा दिएको छ ।

पछिल्लो समयमा बढ्दो बजारीकरणले भने मानिसहरु छतमा स्थान नहुदा राँको ओटालोमै बाल्न थालेका छन् । मुगुको गाउँ बस्तीमा नयाँ आधुनिक घरहरु निर्माण भएका कारण टिन र सिमेन्टको छत भएका घरहरुले आँगन र ओटालोमा राँको बाल्ने चलनको निरन्तरता पछिल्लो पुस्ताले दिँदै आएको छ ।