• १ साउन २०८२, बिहिबार

बत्तिस वर्षमा दार्चुलामा तुइनबाट तेइस जना खसे

blog

 कृष्णबहादुर धामी 

दार्चुला, साउन १ गते । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता हुनेको सङ्ख्या ३२ वर्षको अवधिमा २३ पुगेको छ । तीमध्ये मङ्गलबार पनि तुइन तर्ने क्रममा एक जना नदीमा खसेर बेपत्ता भएका छन् । तुइनमार्फत भारतीय बजार जाने क्रममा मङ्गलबार व्यास गाउँपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता हुनुभएको हो ।

दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने भारत र चीनसँग सीमा जोडिएको व्यास गाउँपालिका–२, दुम्लिङगाउँ र केही बाहिरी जिल्लाका नागरिक गरेर हालसम्म २३ जना तुइन तर्दा महाकाली नदीमा खसेको वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिनुभयो । वडा कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०५० देखि २०८२ असार ३१ गतेसम्म ३२ वर्षको अवधिमा दुम्लिङगाउँका २० जना र अन्य स्थानका तुइन तर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार किनमेलका लागि भारतीय बजार जाने क्रममा तुइनको डोरी चुँडिएर मङ्गलबार महाकाली नदीमा खसेर तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता हुनुभएको हो ।

अहिले पनि व्यास गाउँपालिका–२, दुम्लिङ्ग र वडा नम्बर ५ को नाजी क्षेत्रमा अवैध रूपमा महाकाली नदीमाथि तुइन लगाएर स्थानीय वारपार गर्ने गरेको पाइएको छ । दुम्लिङमा १०५ परिवारको बसोबास छ । सो क्षेत्रमा पुल नभएका कारण अवैध रूपमा तुइन लगाउन स्थानीय बाध्य छन् । स्थानीयले दुम्लिङमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।

वडा नम्बर २ कै मालगाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भए पनि दुम्लिङबाट झोलुङ्गे पुलसम्म पुग्न तीन घण्टाको पैदल दुरी हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय प्रभात बुढाथोकीले बताउनुभयो । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडक मालगाउँमा मात्रै पुगेको छ, मालगाउँबाट तीन घण्टाको पैदल दुरीमा दुम्लिङगाउँ पर्छ । 

नेपाल सरकारको तुइन विस्थापन योजना अनुसार दार्चुलाको लेकम गाउँपालिका–३, लाली, मालिकार्जुन गाउँपालिका–६, उकु, व्यास गाउँपालिका–२, मालगाउँ, वडा नम्बर ४ को मलघट्टे र वडा नम्बर ६ को बडुगाउँमा नेपाल–भारत जोड्ने नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । सरकारले तुइन विस्थापन गर्ने नीति लिएको भए पनि दार्चुलामा भने गैरकानुनी रूपमा तुइन सञ्चालन भइरहेका छन् । गैरकानुनी रूपमा सञ्चालमा रहेका तुइनबाट बर्सेनि नागरिकले ज्यान गुमाइरहनु परेको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल अन्तर्राष्ट्रिय सीमा नदीमाथि अवैध रूपमा तुइन लगाउने कार्य दुई देशबिचको सुरक्षा संवेदनशीलता र मानिसको ज्यानसँग जोडिएको विषय भएका कारण तुइन नलगाउन आग्रह गर्नुहुन्छ ।