• १ साउन २०८२, बिहिबार

‘मिस युनिभर्स’लाई प्रधानमन्त्रीले शुभकामना- ‘यो नेपालको ब्युटी चिनाउने अवसर हो’

blog

केही दिनअघि भद्रपुर विमानस्थलमा प्रधानमन्त्रीसँगको भेटमा मिस युनिभर्स नेपालको टोली । फाइल तस्बिर

काठमाडौँ, साउन १ गते। सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल–२०२५का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ। अहिले पूर्वका विभिन्न ठाउँमा अडिसन भइरहेको मिस युनिभर्समा सहभागीलाई प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएको हो।

प्रधानमन्त्री ओलीले नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा यो सौन्दर्य प्रतियोगिता उपयोगी हुने विश्वास लिनुभएको छ। केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर शुभकामना दिएका दिनुभएको हो। भेटको क्रममा आयोजक संस्था ‘ग्लोबल ग्ल्यामर भेन्चर’की संगीता पुरी, मिस युनिभर्स २०२४ विजेता सम्पदा घिमिरे लगायतको टिम थियो।

शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अन्तर्राष्ट्रियस्तरको मिस युनिभर्स प्रतियोगिताको अडिसन दमकमा आयोजना भइरहेको थाहा पाउँदा खुसी लागिरहेको छ। नेपाललाई चिनाउने, नेपालको ब्युटी चिनाउने, नेपालको ट्यालेन्ट चिनाउने, अवसर हो। यस अवसरलाई हाम्रा चेलीले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु।’

मिस युनिभर्स नेपाल २०२५को अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भइसकेको छ। पूर्वका दुई ठाउँमा ४० जनाको अडिसन भएको र अब चितवन, पोखरा, बुटवल लगायतका ठाउँमा अडिसनको तयारी भइरहेको आयोजकले जनाएको छ।