• १ साउन २०८२, बिहिबार

ताप्लेजुङमा राहदानी बनाउने घटे

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ । तस्बिरः चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन १ गते । ताप्लेजुङमा वैदेशिक रोजगारीमा जान राहदानी बनाउने घटेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष राहदानी (इ–पासपोर्ट) बनाउनेको सङ्ख्या घटेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्ष २०८१–८२ मा यहाँबाट तीन हजार ४३ जनाले मात्र राहदानी बनाएका छन् । वर्षेनी राहदानी बनाउनेको सङ्ख्या बढ्दो क्रममा रहेका बेला गएको आर्थिक वर्षमा घटेको पाइएको छ । 

अघिल्लो आव २०८०–८१ को तुलनामा गत आवमा राहदानी बनाउने ४५८ जना कम भएका छन् । अघिल्लो आवमा तीन हजार ५०१ जनाले राहदानी बनाएका थिए । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार गत आवमा ताप्लेजुङबाट राहदानी बनाउने तीन हजार ४३ मध्ये दुई हजार ८८० जनाले यहाँबाट बुझ्नेगरी राहदानी बनाएका छन् । 

यस्तै, द्रूत सेवाअन्तर्गत अर्थात काठमाडौबाट राहदानी बुझ्नेगरी १६३ जनाले मात्र सिफारिस लिएका छन् । गत आवमा राहदानी बनाउनेमध्ये दुई हजार १५२ जनाको राहदानी फाराम निःशुल्क भरिदिएको प्रशासन कार्यालयले जनाएको छ ।

राहदानी सेवाबाहेक गत आवमा नागरिकता तीन हजार ४८९ जनालाई बंशजका आधारमा प्रदान गरिएको छ । त्यस्तै, सात जनालाई बैवाहिक अङ्गीकृत र आठ जनालाई गैर आवासीय नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाअन्तर्गत गएको आवमा सात हजार ५८५ जनाको विवरण दर्ता गरिएको छ । एक हजार ३८४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

यस्तै, गएको आवमा ९५ जनालाई नाबालक परिचयपत्र वितरण गरेको छ । प्रजिअ शर्माका अनुसार गएको आवमा पाँच हजार २८५ जना सेवाग्राहीलाई कार्यालय प्रयोजनमा प्रयोग हुने विभिन्न कागजातको प्रतिलिपि (फोटोकपी गरी दिएको) निःशुल्क रुपमा उपलब्ध गराइएको छ । गएको आवमा ११ वटा नयाँ संस्था दर्ता भएका छन् ।  

प्रशासन कार्यालयले गएको आवमा राजस्व दुई करोड नौ लाख ५८ हजार ९२० रुपियाँ सङ्कलन गरेको छ । कुल राजस्व रकममध्ये सबैभन्दा बढी राहदानी वितरणबाट एक करोड ६२ लाख ५७ हजार रुपियाँ रकम सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।