• २ असार २०८१, आइतबार

बाँकेका ७६ हजार बालबालिकालाई कोभिड खोप दिइने

blog

खोप अभियानबारे जानकारी गराउँदै खोप फोकल पर्सन श्रेष्ठ । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार ५ गते । बाँके जिल्लाका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ७६ हजार बालबालिकालाई कोभिडविरुद्धको खोप दिने भएको छ । असार नौ गतेदेखि ११ गतेसम्म सो समूहका बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन थालिएको हो । त्यसको तयारी पूरा भएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । 

जिल्लाका सो उमेर समुहका ७६ हजारबढी बालबालिकालाई कोभिडविरुद्धको फाइजर–बायोएनटेक खोप दिन लागिएको जनाउँदै त्यसका लागि दुई सातादेखि विभिन्न तयारी भैरहेको उहाँको भनाई छ । तयारी गर्नेक्रममा विभिन्न पालिकामा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिइएको र जनप्रतिनिधी लगायतलाई पनि बढीभन्दा बढी सहभागी गराउन सहयोग मागिएको उहाँले बताउनुभयो । 

तीन दिनसम्म चल्ने सो खोप अभियानमा बाँकेका ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका खोप फोकलपर्सन श्रेष्ठले बताउनुभयो । सो क्रममा सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।

यस्तै, बैजनाथ गाउँपालिकामा ८ हजार ३४५, डुडुवा गाउँपालिकामा ६ हजार ९८८, जानकी गाउँपालिकामा ६ हजार ३७२ जनालाई खोप लगाउने लक्ष्य छ । सोहीअनुसार कोहलपुर नगरपालिकामा १० हजार २३१, खजुरा गाउँपालिकामा ८ हजार २२४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

खोप अभियानबारे जानकारी दिँदै श्रेष्ठले अधिकांश खोप केन्द्र विद्यालयको प्राङ्गणमा तोकिएको बताउनुभयो । यसअघिदेखि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिकालाई खोप लगाउने अभियान चलिरहेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ । दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ । बुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको कार्यालयले जनाएको छ ।