गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २८ गते । नेपालका हलमा शुक्रबारदेखि एक नेपालीसहित तीन चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’, हलिउडको ‘सुपरम्यान’ र हिन्दी चलचित्र ‘मालिक’ प्रदर्शन भएका छन् । ‘यो मन त मेरो नेपाली हो’ सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो । मित्र प्रधान निर्देशित चलचित्रले नेपाली राष्ट्रियता, भाषा, संस्कृति प्रवर्धन र संरक्षणका लागि नेपालीभाषी समुदायले गरेको सङ्घर्षको कथा प्रस्तुत गरेको छ । चलचित्रमा विजय बराल, आयुशा समाल, विल्सनविक्रम राई, बुद्धि तामाङ, रोशन श्रेष्ठको अभिनय रहेको छ । युनिभर्सल सर्टिफिकेट प्राप्त चलचित्रको समय १२६ मिनेट छ ।
‘सुपरम्यान’ डिसी कमिक्समा आधारित हलिउडको चलचित्र हो । सुपरम्यान पात्रका अङ्ग्रेजी चलचित्र हेर्न रुचाउनेलाई यो चलचित्रले मनोरञ्जन प्रदान गर्छ । चलचित्रमा डेभिन कर्नस्वेट, रचेल ब्रोसनान, निकोलस हल्टको शीर्ष भूमिका रहेको छ । चलचित्रले सत्ता र प्रणालीविरुद्ध नागरिकको हितका लागि सङ्घर्ष गर्ने मुख्य पात्रको कथा भन्छ । भारतीय चलचित्र ‘मालिक’ राजकुमार राव स्टारर हिन्दी ग्याङ्स्टर ड्रामा हो । रावसहित हुमा कुरेसी र मेधा शङ्कर अभिनीत चलचित्रमा द्वन्द्व र अपराधका घटनालाई समेटिएको छ ।