• २८ असार २०८२, शनिबार

अध्यागमन विभागका कर्मचारीमाथि नैतिक संहिता लागू, यात्रीसँग अनावश्यक बोल्न नपाउने

blog

काठमाडौँ, असार २७ गते । अध्यागमन विभाग अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कार्यरत कर्मचारीका लागि नैतिक संहिता (कोड अफ इथिक्स्) लागू गरेको छ । बिहीबारदेखि लागू हुने गरी कार्यालयले कर्मचारीहरूका लागि संहिता लागू गरेको जनाएको छ । 

अध्यागमन विभागअन्तर्गत रहेका कार्यालयहरू र अधिकांश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरूले यात्रुहरूसँग अनावश्यक शब्द प्रयोग गर्ने र दुख दिने गरेको गुनासो पछि नैतिक संहिता (कोड अफ इथिक्स्) नै लागू गरेको अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो । 

नेपाल आउने पाहुनालाई कर्मचारीहरूले अब नेपालमा स्वागत छ- तपाईँको दिनहरू सुखद रहोस् भन्नु पर्ने भएको छ । यता नेपालबाट विदेश जानेहरूलाई कर्मचारीहरूले अनिवार्य रूपमा तपाईँको यात्रा सफल रहोस् भन्नु पर्ने गरी संहिता जारी गरेको छ । 

अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्तअनुरूप कर्मचारीहरूलाई विद्यमान राष्ट्रिय कानुन, सामाजिक, सांस्कृतिक मूल्यप्रति जिम्मेवार र संवेदनशील बनाउन संहिता लागू गरेको प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

कर्मचारीको असल व्यक्तिगत, पदीय एवं पेसागत आचरण र व्यवहारका माध्यमबाट आम नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी, वस्तुनिष्ठ, अनुमानयोग्य र नतिजामूलक बनाउन यो संहिताले सहयोग गर्ने विश्वास कार्यालयले लिएको जनाएको छ । 

उक्त नैतिक संहिताअनुरूपको व्यवहार देखिएको र नदेखिएको यात्रुहरूले तत्कालै व्यक्त गर्न हाल कार्यालयको १५ वटा डेस्कमा आफूले प्राप्त गरेको सेवाको सन्तुष्टि व्यक्त गर्ने गरी उत्कृष्ट सेवा, सन्तोषजनक सेवा, औसत सेवा भन्नेमा मत दिनु पर्ने समेत व्यवस्था गरेको जनाएको छ ।  कार्यालयले बाँकी डेस्कहरूमा पनि छिट्टै जडान गरेर सेवालाई प्रभावकारी बनाउने र कर्मचारीहरूलाई नैतिक जिम्मेवार बनाउने तर्फ काम सुरु गरेको जनाएको छ । 

कर्मचारीले यात्रुहरूसँग बोल्नु पर्ने मुख्य बुँदाहरू :  

- प्रस्थान गर्ने यात्रुलाई कम्तीमा "Have a nice journey" भन्ने

- नेपाल भित्र प्रवेश गर्नेलाई कम्तीमा "Welcome in Nepal, Have a nice day" भन्ने

- थोरै र आवश्यक प्रश्नहरू मात्र गर्ने,

- खाडी मुलुकहरू लगायतमा श्रम / काम गर्न प्रस्थान सम्मानयुक्त शब्दहरू प्रयोग गर्ने

- रूखो (Rude) व्यवहार नगर्ने, बोली वचनमा मिठास पना दिने,

- देशको मुहार झल्कने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीबचन र हाउभाउले आत्मीयता प्रदान गर्ने ।