नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असार २५ गते । बाढी र डुबानको उच्च जोखिम रहने बाँके जिल्लाका दुई गाउँपालिकाका अति जोखिमपूर्ण १० ठाउँमा विपत् पूर्वसूचना प्रणाली अन्तर्गत बाढीको पूर्वसूचना दिने साइरन जडान गरिएको छ । मनसुनमा आउने सम्भावित बाढीबारे समयमै चेतावनी दिन राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका तटीय क्षेत्रका १० स्थानमा सो साइरन जडान गरिएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा ती सबै साइरन जडान गरिएको गाउँपालिकाले जनाएका छन् । राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले नदीले तोकिएको सतह नाघेपछि साइरनले स्वतः बाढीको जोखिमबारे सूचना दिने जनाउँदै यसले सर्वसाधारणलाई जोगिन ठुलो सहयोग गर्ने बताउनुभयो ।
उहाँले आगलागी वा अन्य प्राकृतिक विपत्को अवस्थामा समेत सन्देश प्रसारण गर्न सक्ने क्षमता रहेको बताउनुभयो । दुवै पालिकाले आफ्ना विपत् व्यवस्थापन शाखामार्फत साइरनको निगरानी गर्दै आएका छन् ।
नरैनापुर गाउँपालिकाको विपत् व्यवस्थापन शाखा प्रमुख भरत महतोका अनुसार गत वर्ष नदीले सतह नाघेन, जसका कारण साइरन बजाउनु परेको थिएन । उहाँले भन्नुभयो, “तर यस वर्ष धेरै वर्षा हुने पूर्वानुमान रहेकाले विपत् आएको अवस्थामा साइरनबाट तत्कालै सूचना दिएर नागरिकलाई सावधानी अपनाउन तयारी अवस्थामा छौँ ।”
राप्ती सोनारी गाउँपालिकामा भने साइरनमार्फत सूचना प्रसारण भइरहेका छन् । गाउँपालिकाका सूचना अधिकारी जीवन न्यौपानेले केही दिनअघि लगातार तीन दिन परेको वर्षाले नदीको सतह उच्च भएपछि साइरनबाट जानकारी दिइएको बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वेबसाइटमार्फत साइरनलाई नियन्त्रित गर्न सकिन्छ । न्यौपानेले आवश्यक सूचना तयार गरी स्थानीय भाषासहित साइरनमार्फत प्रसारण गर्न सकिने भएकाले बाढी, लु, आगलागी जस्ता विपत्को जोखिममा तत्काल सूचना दिन यो प्रविधिले समुदायलाई सतर्क गराउन सहयोग पु¥याएको बताउनुभयो ।