मकवानपुर समाचारदाता
मकवानपुर, असार २५ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले बाढी प्रभावित रसुवालगायत जिल्लाका बासिन्दालाई अझै जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । चीनको तिब्बतबाट आएको भोटेकोशीका कारण त्रिशूली नदीमा एक्कासि बाढी आउँदा रसुवा र नुवाकोटमा ठुलो क्षति पुगेपछि निरीक्षणमा पुगेका मुख्यमन्त्री लामाले यस्तो बताउनुभएको हो ।
घटनाको स्थलगत अवलोकन गर्न बाढी प्रभावित क्षेत्र पुगेर दुई वटै जिल्लाका प्रहरी तथा प्रशासनसँग निरन्तर समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले घटनामा घाइते भएकाको उद्धार, उपचार, राहत तथा बेपत्ता भएकाको खोजी कार्यको भइरहेको बताउनुभयो ।
मुख्यमन्त्री लामाले भन्नुभयो, “बाढीबाट जनधनको ठुलो क्षति भएको छ । त्रिशूलीमा दाउरा खोज्न गएका नुवाकोट जिल्ला किस्पाङ, साल्मे घर भएका पाल्देन तामाङ र मङ्गली तामाङ दम्पतीको उद्धारका लागि सङ्घीय सरकारका गृहमन्त्रीलाई भेटेर नेपाली सेनाको हेलिकोप्टर पठाउन आग्रह गरेपश्चात् सकुशल उद्धार भएको छ ।”
यस्तै नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा फसेका स्थानीय पाल्देन तामाङ र उहाँको श्रीमती मङ्गली तामाङ उपचाररत त्रिशूली अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्री लामा, विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी
शशिधर घिमिरेसहित सुरक्षा निकायका प्रमुखले जानकारी लिनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसैबिच रसुवाबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य प्रभात तामाङले नेपाल–चीन
सीमावर्ती क्षेत्र रसुवागढीमा तिब्बतको लेन्दीखोलाबाट आएको भीषण बाढीले पु-याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।