पोखरा समाचारदाता
पोखरा, असार २४ गते । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवा उद्यमीलाई उद्योग र व्यवसायमा आकर्षित गर्न आगामी वर्षदेखि प्रदेश सरकारले युवामैत्री लगानी पुँजीको व्यवस्था गर्ने नीति लिएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षदेखि नै ब्याजमा अनुदान दिएर युवालाई स्वरोजगारी र उद्यमशीलताको विकास गर्ने उल्लेख गर्नुभयो ।
गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कृत गर्नुहुँदै उहाँले युवालाई उद्योगी बन्न प्रेरित गर्ने र त्यसै अनुरूप बजेटको समेत व्यवस्थापन गरिएको बताउनुभयो । स्वदेशी स्रोतमै आधारित कार्यक्रमलाई मन्त्रालयले निरन्तरता दिन युवा उद्यमीलाई प्रदेश सरकारले नै पाइलट प्रोजेक्ट अनुरूप बिउपुँजीको व्यवस्था गर्ने नीति अगाडि बढाएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा सचिव नवराज ढकालले सिपयुक्त युवाशक्ति नै समृद्धिको आधार भएको उल्लेख गर्नुहुँदै निजी क्षेत्रको विकास गरे मात्रै राज्य अगाडि बढ्न सक्ने बताउनुभयो । सरकारले सहजीकरण मात्र गर्ने हुँदा सिप सिकेर उद्यमी बन्नतर्फ प्रेरित हुन युवालाई उहाँको आग्रह थियो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले निजी क्षेत्र सरकारसँग समन्वय गरी अगाडि बढ्न तयार रहेको बताउँदै विद्यार्थीले सरकारी लगानीलाई खेर जान दिन नहुनेमा जोड दिनुभयो ।
उपसचिव तोयानाथ लम्साल, औद्योगिक प्रशिक्षार्थी तेजेन्द्र थापा घर्तीमगर, टेम्पल ट्री रिसोर्ट एन्ड स्पाका एचआर म्यानेजर रामकृष्ण कँडेल र निर्मला माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतलगायतले सिप र उद्यमशीलताको बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा पुरस्कृत हुनेमा शिक्षालयतर्फ निर्मल मावि, व्यास तनहुँ प्रथम घोषित हुँदै ५० हजार रुपियाँसहित सम्मानित भयो भने धवलागिरि बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथोलाई १० हजार नगदसहित सम्मानित गरिएको थियो ।
सिपतर्फ उत्कृष्ट उद्योगलाई २५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेमा होटेल व्यवस्थापनतर्फ पोखराको टेम्पल ट्री रिसोर्ट एन्ड स्पा, भवन निर्माणतर्फ जुम कन्स्ट्रक्सन, इलेक्ट्रिकल इन्जिनियरिङतर्फ वालिङ स्याङ्जाको समीर इलेक्ट्रिकल्स तथा अटोमोबाइल इन्जिनियरिङतर्फ पोखराकै अक्टोपस अटोमोबाइल प्रालि रहेका छन् । यसै गरी प्रशिक्षार्थी श्रेणीमा उत्कृष्टता प्रदर्शन गर्ने १६ जनालाई विभिन्न वर्गमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।