• २४ असार २०८२, मङ्गलबार

पूर्वाधार निर्माणमा प्राथमिकता

blog

बुटवल समाचारदाता

बुटवल, असार २४ गते । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट नगर सभाले पारित गरेको छ । ढिलो गरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा लुम्बिनीको विकास, शिक्षा, स्वास्थ्य, खेलकुद, सरसफाइ, भाषा, संस्कृति संरक्षण, धार्मिक पर्यटन प्रवर्धनलगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख सजरुद्दिन मुसलमानले लुम्बिनीको पर्यटन प्रवर्धन गर्न फुड फेस्टिभल गर्ने तथा लुम्बिनीको विकासका लागि लुम्बिनी विकास कोषसँग सहकार्य गर्ने बताउनुभयो । यसै गरी लुम्बिनी शान्ति र ज्ञानको जननी भन्ने नाराका साथ लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्ने कुरा उल्लेख छ । त्यसै गरी सामुदायिक विद्यालयको आकर्षण बढाउन हरेक विद्यालयमा सङ्गीतमय पिटी प्रार्थना सुरु गरिने उल्लेख छ ।

नीति तथा कार्यक्रममा बृहत् बुद्ध सर्किटको विकास, रैथाने खानाको गुणस्तर वृद्धि, लुम्बिनी आउने पर्यटकको बसाइ अवधि लम्ब्याउने खालको कार्यक्रम गरिने उल्लेख छ । त्यसै गरी लोप हुँदै गएको कालानमक धानको उत्पादन वृद्धि गरी प्याकेजिङ गरेर देश तथा विदेशमा बिक्रीको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

नगरको सबै वडामा स्वच्छ खानेपानीको व्यवस्था मिलाइने उल्लेख गरिएको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचको व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा रहेका युवालाई कृषिमा आकर्षित गर्ने उल्लेख गरिएको छ । नगर सभाको शुक्रबारको बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले आव २०८२/८३ का लागि एक अर्ब ५४ करोड ५० लाख ५९ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका तर्फबाट १५ औँ नगर सभामा उपप्रमुख कल्पना हरिजनले उक्त आयव्ययको विवरण प्रस्तुत गर्नुभएको हो । 

बजेटमा सङ्घीय सरकार समानीकरण अनुदान अन्तर्गत १७ करोड ३० लाख, राजस्व बाँडफाँटतर्फ १४ करोड ७४ लाख, ससर्त अनुदान अन्तर्गत नेपाल सरकारको ३६ करोड ४२ लाख ९६ हजार र एसियाली विकास बैँकतर्फ ५३ करोड ६९ लाख र समपूरक अनुदानतर्फ ६८ लाख रुपियाँ हुने अनुमान गरिएको छ । बजेटमा पूर्वाधार विकासका साथै शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, खेलकुदलगायतको क्षेत्रमा प्राथमिकता दिएको छ ।