• १९ असार २०८२, बिहिबार

नेपाल तरुण दलको महाधिवेशन तोकिएको समयमै गर्ने निर्णय

blog

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा अनसन रहेका तरुण दलका नेता तथा कार्यकर्ताको अनसन तोडाउनु हुँदै । तस्बिर : उपसभापति खड्काको सचिवालय

काठमाडौँ, असार १८ गते। नेपाल तरुण दलको महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने निर्णय भएको छ। कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का अनुसार तोकिएकै समयमा महाधिवेशन गर्ने निर्णय पार्टीले गरेको हो।

उपसभापति खड्काका अनुसार तरुण दलको महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप २०८२ मंसिर २६ गतेदेखि २८ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको हो । 

यसका लागि त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने एवम् तयारी र व्यवस्थापन सहजीकरणका लागि नेपाल तरुण दलको मौजुदा कार्य समितिभित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय भएको उहाँको भनाइ छ।

उहाँका अनुसार बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको बैठकमा केन्द्रीय सदस्य श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सीना, आमन्त्रित प्रदेश सभापतिहरु उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले आ–आफ्नो धारणा राख्नुभएको छ।

तोडियो अनशन 

नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयमा अनशन बस्दै आउनु भएका तरुण दलका केन्द्रीय सदस्य रोजन राई र अम्बिका दासले आज अनसन तोड्नुभएको छ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले अनसनरत राई र दासको  सो अनशन तोडाउनु भएको हो।

राई र दासले तरुण दलको महाधिवेशन गर्न नसक्ने असक्षम तदर्थ समिति भङ्ग गर्नुपर्ने माग राख्दै असार १५ गतेदेखि आमरण अनशन बस्दै आउनु भएकाे थियाे ।