• १९ असार २०८२, बिहिबार

राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा थप र एमआरआई जडान गर्न सरकारको ध्यानाकर्षण

blog

काठमाडाैं, असार १८ गते । नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा आईसियु सेवा विस्तार तथा एमआरआई सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

उहाँले अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार ट्रमा अस्पतालमा बेड क्षमताको कम्तीमा ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्नेमा ट्रमा सेन्टरमा उक्त मापदण्डको पालना नगरिएको बताउनुभयो । उहाँका अनुसार ट्रमा अस्पतालमा हाल २०० बेडमध्ये १० वटा मात्रै आईसियु कक्ष सञ्चालनमा छन् । उहाँले ट्रमा सेन्टरमा अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसियु सेवा दिनसक्ने सम्भावना रहेको भन्दै तत्काल सेवा विस्तार र एमआरआई जडानका लागि सरकारसँग माग गर्नुभयो । 

उहाँले भन्नुभयो, "ट्रमा अस्पतालको प्रोटोकल अनुसार अस्पतालको बेड क्षमताको ३० प्रतिशत आईसियु सेवा उपलब्ध हुनुपर्छ भन्ने छ । नेपाल सरकारको एकमात्र विशिष्टकृत ट्रमा सेन्टरमा दुई सय बेडको क्षमता भएपनि जम्मा १० बेडमात्र आईसियु सेवा रहेको छ । यो अस्पतालमा अति आवश्यक पर्ने एमआरआई सेवासमेत नरहेको अवस्था छ ।" 

"चिकित्सकका अनुसार ट्रमा बिरामीहरुलाई चार घण्टाभित्र उपचार सेवा दिनुपर्ने हुन्छ । तर त्यहाँ आईसियु सेवा नहुँदा बिरामीहरुलाई अन्यत्र निजी अस्पतालमा लैजानुपर्ने बाध्यता छ । कतिपय अवस्थामा बिरामीको मृत्युसमेत हुने गरेको छ । अस्पताल प्रशासनका अनुसार राष्ट्रिय ट्रमा अस्पतालमा अहिले भएको जनशक्तिले नै प्रोटोकलअनुसारको थप ५० आईसियु दिनसक्ने भएकाले त्यहाँ तत्काल आईसियु सेवा विस्तार गर्न र एमआरआई सेवा समेत तत्काल व्यवस्था गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु," उहाँले थप्नुभयाे ।

उहाँले ट्रमा बिरामीहरुले आईसियुको अभावमा अन्यत्र जानुपर्ने तथा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।