• १९ असार २०८२, बिहिबार

सहरको जन्त जाँदै छु (कविता)

blog

बग्गीमा बेहुलो 

बग्गीमा बेहुली

कामका कामनामा वायुपङ्खी उँड्छन्

घोडाहरू मुख जोडेर साउती गर्छन्–

‘उदाङ्गो छ सहर, लाजको नाटक चल्दैन’


सुमरिन्छन् घोडाका काम कामना

एउटा बासी सभ्यताको विज्ञापन बोर्ड–

शुभ विवाह 

घोडाको पाठशालामा धोकाइएन बाह्रखरी


घिसारिएर बग्गीका पाङ्ग्रामा

सहर प्रतिष्ठामा चुलिन्छ

हाय ! बग्गीले छातीमा टापका चाप छाड्छ

बम्बैयाले गरेको जुठो चुम्बनको बुट्टा छ सहरी गालामा

(मेरो गाउँमा

बग्गीमा बेहुलो 

बग्गीमा बेहुली

कामका कामना गुड्दैनन्)


जीवनका सङ्गीतमा

घोडाका टाप र लगामले रेट्दैनन् मृदङ्ग

रङको पहाड टेकेर

इन्द्रेणीको सिन्दुरे टाँगिन्छ वनपाखामा

चराले बग्गी चढेन

चरीले बग्गी चढिन

घोडाको पुच्छर पछाडि

जन्ती नाचेनन् कर्‍याङकुरुङहरू

बुफेट र बोतलामा लेखिएन शुभविवाह

हाँगाको एक गुँडमा भित्रिन

हाँगाको एक गुँडमा भिœयाउन

जुरेलोको जन्त जान पाइएन

जुरेलीको कन्यादान देखिएन


जीवनको अथाह खेद !

कुमार घोडाहरू

व्यङ्ग्यका किताब सम्पादन गर्छन्

थप्छन् विचार वाक्य–

(विज्ञानको प्रयोगशालामा

एआई पुत्रीहरू

एआई पुत्रहरू

कस्तो प्रसवमा जन्मन्छन् ?)


घोडाको तबेलामा सुडेनीहरू बेरोजगार छन्

बाँझा छन् घोडाका मझेरी र आँगन

नाच्दैनन् रत्यौलीमा फुपू–घोडी

जसै गएनन् फुपाजु घोडाहरू सहरको जन्त !