• ७ जेठ २०८१, सोमबार

कालीकोटमा पानीको वितण्डा : सडक चिरा पर्दा खोलामा परिणत

blog

लगातारको वर्षाले चिरापारेको सडकमा स्काभेटरको सहयोगमा गाडी चढाईदै । तस्बिर : प्रेमराज सिम्खडा

कालीकोट समाचारदाता

कालिकोट, असार ३ गते । मध्याह्नदेखि सधै पर्ने मुसलधारे वर्षाले कर्णाली लोकमार्गमा दैनिक अवरोध हुँदै आएको छ । भीषण वर्षाका कारणले लोकमार्गकाको विभिन्न खण्डमा सडक चिरा पारेर खोलामा परिणत हुँदा सडक अवरोध हुने गरेको हो । 

दैनिकको मुसलधारे वर्षाले सबैभन्दा बढी क्षति कर्णाली लोकमार्गको कालीकोट खण्डमा पुर्‍याएको छ । तर दैलेखमा पानी परेको छैन । जसोतसो सडक ठिकै छ । तर कालीकोटमा १५ दिन यता लगातार मध्याह्नबाट पर्ने मुसल्धारे वर्षाले सडकलाई निसाना बनाएको छ । मर्मत हुँदै गरेको सेरीघाट मान्म सडक खण्ड खोलामा परिणत हुँदा दैनिक आउजाउ गर्ने यात्रुलाई सास्ती भएको छ । 

दैनिक पानी बर्षिन्छ पहिरो आउँछ । स्र्काभेटरले पहिरो पन्छाउँछ र जान्छ । फेरि पहिरोले सडक पुर्ने र बाढीले खोला बनाउने हुँदा घन्टौं यात्रु सडकमा अलपत्र पर्ने गरेका छन् । बिहीबार साँझ पाँच बजेदेखि सात बजेसम्म आएको पानीले सेरीघाट वारीपारी, झाम्ला मोड, मेयर खोला, तल्लो माथिल्लो सुनारखोलामा पहिरो सँगैको बाढीले सडक अवरोध गर्दा १५ घण्टासम्म यात्रु सडकमै तड्पिए ।

रातभरि स्काभेटरले पहिरो पन्छाउने र बाढीले चिरा पारेको सडकमा माटो भरेर गाडी चल्नेसम्मको सडक बनाउँदै बिहान उज्यालो भयो । अनि बल्ल केही यात्रुवाहक गाडीलाई गन्तब्यतर्फ पठाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । निमित कार्यालय प्रमुख दीपक बाेहोराले आफूहरु निरन्तर सडक खुलाउनतिर लागेको भन्दै साधन नभएर समस्या हुने गरेको सुनाउनुभयो । 

सधैं पहिरो पन्छाउन खटिने ट्राफिक प्रहरीका जवान लालबहादुर क्षेत्रीले सबैभन्दा बढी सुनारखोलाले दुःख दिने हुँदा यही खोलामा दीर्घकालीन योजना बनाएर सडक बनाउँदा समस्या समाधान हुने सुनाउनुभयो । 

सडकले एक स्काभेटर उपलब्ध गराएको छ । त्यही एक कता लिएर जाने, त्यही भएर पानीले वर्षेनी कालीकोट खण्डमा बढी क्षतष पुगाउने भएकाले यात्रुले दुःख पाउँदै आएको बोहोराको भनाइ छ । कर्णाली प्रदेशका मुख्यमन्त्री कालीकोटकै महेन्द्रहादुर शाही हुँदासमेत सुनारखोला पहिरो नियन्त्रणका लागि धेरैले गुनासो गरे । हेलो सरकारमा समेत कुरा राखे तर उहाँले कुनै पनि बजेटको ब्यवस्थापन नगरेका कारण अहिले यस्तो भएको यहाँका नागरिकको गुनासो छ । 

रास्कोट अजविर फर्सालले आफू जहिले पनि मान्म आउँदा यही सडकमा दुःख पाउने गरेको सुनाउनुभयो । बिहीबार अवरोध सडकमा भेटिनुभएका फर्सालले धेरैपटक आफूले पनि तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कार्यकक्षमा पुगेर मान्म लगायतका सडकका विषयमा कुरा गर्दा हुन्छ भन्नुभयो । 

तर कहीं पनि सुधार गर्न सक्नुभएन फर्सालले गुनासो गर्नुभयो । राष्ट्रिय स्तरका सञ्चारमाध्यममा पनि धेरै पटक समाचार प्रकाशन भए । तर तत्कालीन मुख्यमन्त्री शाहीले चासो नदिंदा सडक नबनेको उहाँकै कार्यकर्ताको भनाइ छ । उहाँले आफूले गर्ने होइन । कुनै मन्त्रालयलाई भनेको भए सडक मर्मत हुँदा यस्तो हुँदैनथ्यो । वर्षातको दोष एक हो भने पहिलो दोषी सरकार नै भएको कर्णाली लोकमार्गमा यात्रा गर्नेहरुको बुझाइ छ ।