शंकर केसी
सल्यान, माघ १० गते । जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सल्यानमा स्थानीय प्रशासनले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले ८, माघमा बसेको सुरक्षा समितिको निर्णय अनुसार हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
जिल्ला प्रशसन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार व्यक्तिगत सुरक्षाका नाममा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सम्पूर्ण हातहतियार तथा खरखजाना सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने छ । कार्यालयले शुक्रबार सूचना प्रकाशन गरेको हो ।
तोकिएको समयभित्र बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपछि आगामी चैत २० गतेपछि सम्बन्धित हतियार धनीलाई नै फिर्ता गरिनेछ । तर तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको आदेश अटेर गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनको चेतावनी छ ।