• १० माघ २०८२, शनिबार

तीन राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा

सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा

blog

अध्यक्ष उपेन्द्र यादव, डा. सिके राउत र डा. शरतसिंह यादव

कल्याणपुर (सप्तरी), माघ १० गते । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरीबाट तीनजना राष्ट्रिय अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरतसिंह यादव र क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिनु भएको हो ।

तीनजना राष्ट्रिय अध्यक्ष सप्तरीबाट उम्मेदवार बन्दा यहाँको चुनावी सरगर्मी बढेको मतदाताहरु बताउँछन् । यसअघि २०७९ को निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. राउत र जसपा नेपालकाका अध्यक्ष यादव आमने सामने प्रतिस्पर्धामा उत्रिदा यादव डा राउतसँग दोब्बर मतान्तरले पराजित हुनुभएको थियो ।

यसरी दुवै राष्ट्रिय अध्यक्ष एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नु र एकजना चुनाव हार्नुले मधेशको राजनीतिमा नकारात्मक प्रभाव परेको मधेशवादी नेता दिनेशप्रसाद साह बताउनुहुन्छ ।

विगतको तितो अनुभवबाट पाठ सिक्दै यसपालिको निर्वाचनमा यादव र र डा. राउत दुवै राष्ट्रिय अध्यक्ष फरक क्षेत्रबाट चुनाव लड्नु मधेशका लागि सकारात्मक भएको उहाँको भनाइ छ ।

जेनजी आन्दोलन अघिसम्म डा. राउतसँगै जनमत पार्टीका प्रवक्ता समेत रहि सक्नुभएका डा शरतसिंह यादव अहिले जनअधिकार पार्टी गठन गरी डा. राउतसँगै सप्तरी २ बाट चुनाव लड्नुलाई पनि अर्थपूर्ण रुपमा लिनुपर्ने स्थानीय मतदाता सञ्जय शेखरले बताउनुभयो ।

चार वटा निर्वाचन क्षेत्र रहेको सप्तरीमा विभिन्न दल र स्वतन्त्र गरी १०२ जनाको उम्मेदवारी कायम रहेको छ ।

क्षेत्र नम्बर १ मा नयाँ र पुरानाबिच कडा टक्कर हुने देखिएको छ । नयाँ दल स्वभिमान पार्टीबाट उम्मेदवार बनेका युवा नेता ई.सुमित साह, जनमत पार्टीका तर्फबाट डा.जयकान्त राउत, नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, एमालेका नेता सुमनराज प्याकुरेल, रास्वपाकी पुष्पा चौधरी मुख्य प्रतिस्पर्धीको रुपमा देखिनुभएको छ ।

यस क्षेत्रमा यसअघिको निर्वाचनमा जसपा नेपालका तर्फबाट उम्मेदवार भएका नवल किशोर साह विजयी हुनुभएको थियो ।

क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा.राउत २०७९ को निर्वाचनमा भारी मतान्तरले विजयी हुन भएको थियो । अघिल्लो निर्वाचनमा उहाँकै पार्टीबाट यस क्षेत्रमा प्रदेश सभासदस्यमा जितेर मुख्यमन्त्री समेत भइसकेका सतिष कुमार सिंह नयाँ दल स्वभिमान पार्टीबाट यसै क्षेत्रमा उम्मेदवारी दिनुभएको छ । साथै जनमत पार्टी छाडेर जनअधिकार पार्टी खोलेका राष्ट्रिय अध्यक्ष शरतसिंह यादव पनि यसै क्षेत्रबाट उम्मेदवारी दिँदा डा. राउतलाई जित निकाल्न भने सहज नरहेको मधेश मामिलाका जानकार एवम् विश्लेषक अधिवक्ता अवधेशकुमार सिंहको तर्क छ । उहाँले २०५६ पछि सप्तरी २ बाट दोहरिएर कसैले पनि चुनाव नजितेको स्मरण गराउँदै डा. राउत बलियो भए पनि धेरै मिहिनेत गर्नुपर्ने अवस्था विद्यमान रहेको बताउनुभयो ।

यस क्षेत्रबाट रास्वपाका युवा नेता रामजी यादव, जसपा नेपालबाट पूर्व मन्त्री उमेश प्रसाद यादव, नेपाली कांग्रेसबाट जिल्ला उपसभापती रामकुमार यादव, नेपाल जनता पार्टीबाट पूर्व प्रतिनिधि सभासदस्य एवम् महामन्त्री रञ्जु ठाकुर, राष्ट्रिय मुक्ति पार्टीबाट पूर्व मन्त्री अनिस अन्सारी, नेकपाबाट सूर्यनाथ यादव, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी पनि प्रतिस्पर्धामा देखिनुभएको छ ।

सप्तरी क्षेत्र नम्बर ३ मा एमालेबाट ताराकान्त चौधरी र उहाँका भतिजा अमरकान्त चौधरी रास्वपाबाट उम्मेदवार बन्नुभएको छ । काका–भतिजा आमने सामने भएपछि चुनावमा रोचक प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरुको तर्क छ । यस क्षेत्रमा अघिल्लो चुनावमा नेपाली कांग्रेसका दिनेश कुमार यादले ताराकान्त चौधरीलाई हराउँदै जित निकाल्नुभएको थियो । यो चुनावमा पनि कांग्रेसको तर्फबाट यादव चुनावी मैदानमा उत्रिनुभएको छ ।

यस्तै यस क्षेत्रबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि चुनावी मैदानमा रहनु भएकाले रोचक प्रतिस्पर्धा हुने भएको छ । पहिलो पटक यस क्षेत्रबाट उम्मेदवारी दिनु भएका यादवले जित निकाल्ने दाउमा रहनु भएको छ भने कांग्रेसका यादव, एमालेका चौधरी, राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव गजेन्द्र कुमार मण्डल र रास्वपाका अमरकान्त चौधरीबिच मुख्य प्रतिस्पर्धा हुने मतदाताको अनुमान छ ।

क्षेत्र नम्बर ४ मा तीन पटकको विजेता कांग्रेसका पूर्व मन्त्री तेजुलाल चौधरी पुनः चुनावी मैदानमा उत्रिनुभएको छ । चौथो जित निकाल्दै इतिहास रच्ने दाउमा रहनु भएका उहाँलाई कांग्रेसका पुराना नेता सिताराम साह पार्टी परित्याग गरेर रास्वपाबाट उम्मेदारी दिनुभएका कारण चुनौती थपिएको स्थानीयको भनाइ छ ।

यहाँबाट जसपा नेपालकी महिला नेतृ डा.बबी सिंह यादव, नेकपा एमालेबाट, बालकृष्ण चौधरी र नेकपाबाट रुवी कर्ण पनि चुनावी मैदानमा रहनुभएकाले नयाँ र पुराना उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरु बताउँछन् ।