पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, माघ १० गते । नेपाल प्रहरीको उच्च कमाण्ड सम्हालेर अवकाश पाएका व्यक्तिहरू प्रायः सल्लाहकार वा कुटनीतिक भूमिकामा सीमित हुने गर्छन् । तर पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानको हकमा भने कथा फरक छ । राष्ट्रिय राजनीतिमा एक कुशल पात्रका रूपमा रहुनुभएका प्रधान यतिबेला पश्चिम नवलपरासी क्षेत्र नं. २ मा पुनः जनअनुमोदित हुन चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वरिष्ठ उपाध्यक्षको रहनुभएका प्रधान वि.सं. २०७९ को आम निर्वाचनमा यसै क्षेत्रबाट भारी मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । आफ्नो पहिलो संसदीय निर्वाचनमै ३४,७५९ मत प्राप्त गरी उहाँले प्राप्त गर्नुभएको जितलाई नवलपरासीको राजनीतिमा ’ऐतिहासिक मोड’का रूपमा हेरिएको छ ।
बहुआयामिक पृष्ठभूमि र नेतृत्व
ध्रुव बहादुर प्रधानको पहिचान केवल एउटा राजनीतिज्ञमा मात्र सीमित छैन । उहाँको व्यावसायिक र सामाजिक पृष्ठभूमि निकै गहिरो छ ।
सुरक्षा निकायको नेतृत्वः नेपाल प्रहरीको पूर्व प्रहरी महानिरीक्षकको रूपमा उहाँले संगठनको सफल नेतृत्व गर्नुभएको थियो । प्रहरी सेवामा रहँदा उहाँलाई एक निडर, व्यावसायिक र इमानदार अधिकृतका रूपमा सम्मान गरिन्थ्यो ।
खेलकुद जगतको नेतृत्वः उहाँले नेपाल ओलम्पिक कमिटीको अध्यक्षको रूपमा नेपाली खेलकुद जगतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै महत्त्वपूर्ण नेतृत्व प्रदान गरिसक्नुभएको छ ।
चुनावी एजेन्डा र जनपक्षीय मुद्दा
प्रधानले चुनावी मैदानमा उत्रदा ‘सुशासन’ र ‘भ्रष्टाचार विरोधी’ छविलाई आफ्नो मुख्य हतियार बनाउनुभएको छ । पश्चिम नवलपरासीका जनताले लामो समयदेखि भोग्दै आएका समस्याहरूलाई उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।
डुबान र कटानको समस्याः वर्षायाममा नारायणी र अन्य स्थानीय खोलाहरूबाट हुने क्षति रोक्न दीर्घकालीन पूर्वाधार निर्माण। किसानका मुद्दाः कृषि प्रधान क्षेत्र भएकाले समयमै मलखाद र सिँचाइको सुनिश्चितता, रोजगारी र उद्योगः स्थानीय युवाहरूका लागि क्षेत्रभित्रै औद्योगिक विकास र रोजगारीका अवसर सिर्जना गर्ने स्पष्ट कार्ययोजना उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।
विश्वास र चुनौती
सुरक्षा निकायमा रहँदाको लामो अनुभवले गर्दा उहाँले शान्ति सुरक्षा र विधिको शासन स्थापना गर्ने कुरामा आम नागरिकले ठूलो विश्वास गरेका छन् । यद्यपि, ठूलो आशाका साथ निर्वाचित भएका कारण मतदाताका बहुआयामिक अपेक्षाहरू पूरा गर्नु र परम्परागत राजनीतिक शक्तिहरूको बिच आफ्नो फरक पहिचान जोगाइराख्नु उहाँका लागि मुख्य चुनौती र अवसर दुवै हुन् ।