• ५ जेठ २०८१, शनिबार

‘यथार्थपरक र परिणाममुखी बजेट’

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, असार ३ गते । आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट यथार्थपरक र परिणामुखी भएको बताउनुभएको छ । 

मन्त्री विष्टले बुधबार प्रदेश सभामा पेस गर्नुभएको बजेटमा आव २०७९/८० लाई अधुरा योजना सम्पन्न गर्ने वर्षका रूपमा घोषणा गर्नुभएको छ । बजेटको ठूलो हिस्सा क्रमागत तथा अधुरा योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छ । 

बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री विष्टले कर्णालीको विकास र समृद्धिका लागि परिणमुखी बजेट ल्याइएको बताउनुभयो ।प्रदेश सरकारले सडक, पूर्वाधार, खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रको सन्तुलित र तीव्र आर्थिक विकास गर्नेगरी बजेट ल्याएको उहाँले जानकारी दिनुभयो । 

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपियाँको बजेट ल्याएको छ । उक्त बजेटमध्ये करिब ८० प्रतिशत बजेट क्रमागत योजना, पुराना तथा अधुरा योजनाका लागि विनियोजन गरिएको मन्त्री विष्टले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “बजेटमा हामीेले धेरै नयाँ कार्यक्रम ल्याएका छैनौँ । पुराना तथा अधुरा योजना सम्पन्न गर्न ठूलो हिस्सा बजेट विनियोजन गरेका छौँ । बजेट ल्याएकाले प्रभावकारी कार्यान्वयन गर्नेगरी बजेट ल्याएका छौँ । यसले कर्णालीको विकास र समृद्धि र रूपान्तरणमा परिणमुखी र जनतामा आशावादी जगाउने छ । धारा नपुगेका ठाउँमा धारा पुग्नेछन् । खेतमा सिँचाइ पुग्नेछ । सडक नपुगेका ठाउँमा सडक पुग्नेछन् ।’

उहाँले मन्त्रालयले कम्तीमा ३० प्रतिशत अधुरा योजना सम्पन्न गर्ने गरी बजेट कार्यान्वयन हुने बताउनुभयो । अहिलेको बजेट ल्याउँदा धेरै नयाँ कार्यक्रम र नारा समावेश नभए पनि यस बजेटले जनतालाई आशावादी गराउने उहाँले बताउनुभयो । 

यस पटक यथार्थपरक बजेट आएको भन्दै प्रभावकारी र समयमै सम्पन्न हुने उहाँको दाबी छ । उहाँले भन्नुभयो, “विगतमा एक्टिभिटीमा आधारित नभएर डल्लो बजेट ल्याइन्थ्यो । यस पटक हामीले नयाँ कार्यक्रम धेरै नल्याए पनि एक्टिभिटीमा आधारित भएर बजेट ल्याएका छौँ ।”