• ५ जेठ २०८१, शनिबार

डाइभर्सन बगाउँदा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध

blog

पुर्वपश्चिम लोकमार्गको सुनवलको तुरिया खोलामा अस्थाई रुपमा बनाइएको डाइवर्सन बाढीले बगाएको अवस्थामा । तस्बिर: गोपी ज्ञवाली

नवलपरासी, असार ३ गते । पूर्वपश्चिम राजमार्गको सुनवल तरिया खोलाको डाइभर्सन बाढीले बगाउदा पूर्वपश्चिम लोकमार्ग गएको रातीदेखि अवरुद्ध भएको छ । 

बिहीवार राती परेको वर्षाका कारण तरिया खोलामा आएको बाढीले खोलामा बनाइएको डाइभर्सन बगाउदा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध बनेको जिल्ला ट्राफिक कार्यालय नवलपरासीका कार्यवाहक प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक डम्बर गिरीले बताउनुभयो । 

बुटवल नारायणगढ सडक विस्तारका क्रममा नवलपरासीका अधिकांश पुलहरु अहिले निर्माणाधीन अवस्थामा रहेको हुनाले दर्जनौं खोलामा पूर्वपश्चिम लोकमार्गमा गाडीहरुको आवागमनका लागि डाइभर्सन बनाइएको छ । यसै अन्तर्गत सुनवलमा रहेको तुरिया खोलामा  केही समयका लागि बेलिब्रिज निर्माण गरिएको कम क्षमताका गाडीहरुलाई सुचारु गरिएको थियो भने बेलिब्रिजको तल्लो भागमा नयाँ पुलका लागि पाया बनाउने क्रममा बेलिब्रिज पनि हल्लिएपछि पुरानो पुलको उत्तरमा डाइभर्सन बनाइएको थियो । 

पछिल्लो पाँच दिनदेखि नवलपरासीको उत्तरी भागको चुरे पहाड क्षेत्रमा रातीको समयमा दैनिक जसो भारी वर्षा हुने क्रम जारी रही रहँदा बिहीवार राती तुरिया खोलामा आएको बाढीले खोलामा बनाइएको डाइभर्सन बगाएपछि सुनवलमा यातायात अवरुद्ध भएको छ । तरिया खोलामा डाइभर्सन बगाएपछि पूर्वबाट पश्चिमतर्फ जाने गाडीहरुलाई सुनवलको भुमहीबाट भैरहवा हुँदै पश्चिमका लागि पठाइएको छ भने पश्चिमबाट पूर्वतर्फ आउने गाडी पनि सोही बाटोबाट पठाइएको जिल्ला ट्राफिक कार्यालय नवलपरासीका कार्यवाहक प्रमुख गिरीले बताउनुभयो ।  

गत भदौ ९ र १० गते परेको बेमौसमी अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गको पश्चिम नवलपरासी सुनवलमा रहेको तुरिया खोला र देवदहको घोडाहामा रहेको पक्की पुल  भाँचिएपछि पूर्वपश्चिम लोकमार्गमा करिब एक महिनादेखि यातायात ठप्प थियो । एकै समयमा भाँचिएका तुरिया खोला पुलमा पुरानो पुलमाथि बेलिब्रिज बनाई यातायात सुचारु गरिएको भए पनि पछि डाइभर्सनबाट सबै क्षमताका गाडीहरुलाई हिँडाइएको थियो । 

गत भदौमा परेको बेमौसमी वर्षाका कारण सुनवलको तरिया खोलामा भाँचिएको पक्की पुलकै माथिबाट बनाइएको बेलिब्रिजबाट ए तर्फी एवं कम क्षमताका (२० टन क्षमताका) सवारी साधनमात्र चलाउन दिइएको थियो । 

तरियामा पुरानो भाँचिएको पुलमाथि बनाइएको बेलीब्रिजलाई मर्मत गरी केही समयपछि साना गाडी सुचारु गर्ने तयारी गरिएको बताइएको छ ।

Author

गोपी ज्ञवाली