• १० जेठ २०८१, बिहिबार

बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी

blog

बुटवल समाचारदाता

बुटवल, असार ३ गते । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा शुक्रबारदेखि दुईदिने राष्ट्रिय चिया प्रदर्शनी गर्ने भएको छ । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र चियाका फाइदाको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले प्रदर्शनीका विषयमा जानकारी दिन बिहीबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय चिया प्रदर्शनीमा २५ वटा चियाका स्टल सहभागी हुने बताउनुभयो ।

प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न ब्रान्डको चियाको निःशुल्क स्वाद लिन पाइनेछ । नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको राष्ट्रिय चिया प्रदर्शनी कार्यक्रममा नेपालका चियाका मुख्य जिल्ला झापा, इलामदेखि पश्चिमसम्म उत्पादित चियाको प्रदर्शन हुनेछ । 

नेपालको चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि कार्य गर्दै आएका निजी क्षेत्रका नेपाल टी एसोसिएसन, हिमालयन अर्थोडक्स टी प्रोड्युसर एसोसिएसन, नेपाल टी प्रोड्युसर एसोसिएसन, केन्द्रीय चिया सहकारी सङ्घ, स्पेसियालिटी टी एसोसिएसन नेपालमा आबद्ध चियाका व्यवसायीबाट उत्पादित चियाका ब्रान्डहरूको प्रदर्शनीमा मुख्य रूपमा सहभागिता रहने कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । कार्यक्रममा १०० भन्दा बढी चिया व्यवसायीको सहभागिता रहने बताइएको छ । 

आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्कअनुसार नेपालले तीन अर्ब ७९ करोडभन्दा बढी मूल्यको चिया निर्यात गरेको छ । कार्यकारी निर्देशक भट्टराईले पश्चिम नेपालका गुल्मी, अर्घाखाँची, रोल्पा र रुकुमलगायतका पहाडी जिल्लामा चिया तथा कफी खेतीको प्रशस्त सम्भावना रहेकाले बुटवलमा आयोजना हुने प्रदर्शनीले पश्चिम क्षेत्रमा चिया खेतीको प्रवद्र्धन गर्नसमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।