• १४ असार २०८२, शनिबार

मन्दिरको दानपेटिकाबाट रकम चोरी

blog

चन्दननाथ मन्दिर रहेको स्थान जुम्ला । तस्बिर : गोरखापत्र

नौरते नेपाली

सिँजा (जुम्ला), असार १४ गते । कर्णालीको प्रसिद्व चन्दननाथ मन्दिरका राखिएको दानपेटिकाबाट रकम चोरी भएको छ । प्रहरीको सुरक्षा घेराभित्र रहेको मन्दिरको दान पेटिकाबाट रकम चोरी भएको हो ।

अज्ञात व्यक्तिले बिहीबार दिउँसो २:४० बजे दान पेटिका फोडेर रकम चोरी गरेको खुलेको छ । मन्दिरको सिसिटिभी फुटेजनुसार अज्ञात व्यक्तिले दान पेटिका फोडेर रकम लिएको चन्दननाथ मन्दिरका नायब सुब्बा रत्नप्रसाद आर्चायले बताउनुभयो ।

सुरक्षाकर्मी खाजा खान गएको मौका छोपी चोरी गरिएको बताईएको छ । प्रहरी युनिट समेत खडा भएको मन्दिर भित्र दिन दहाडै दान पेटिकाको रकम चोरी हुनुले सुरक्षा व्यवस्था निकै फितलो भएको बुझिन्छ ।  

चन्दननाथ मन्दिर दर्शन गर्न आउने भक्तजनहरुले चढाएको रकम चोरी भएपछि मन्दिरको सुरक्षा मजबुद हुन नसकेको भन्दै प्रश्न खडा भएको छ । 

चोरी गर्ने अज्ञात व्यक्तिको प्रहरीले खोजी कार्य जारी राखेको छ ।  केही वर्षअघि मन्दिरबाट दत्रातय सहित अन्य बहुमुल्य मुर्ति चोरी भएपछि मन्दिरको सुरक्षा व्यवस्था कडा हुन नसकेको भन्दै प्रहरी प्रशासन माथि प्रश्न उठ्दै आएको थियो । 

मुर्ति  चोरी घटनाका दोषी अहिले सम्म पत्ता लागेका छैनन् । मन्दिर भित्रकै दान पेटिका फोडेर रकम चोरी भएपछि स्थानीय त्रसित भएका छन् ।