• १४ असार २०८२, शनिबार

करातेमा बाबुकै पदचाप पछ्याउँदै याङतैन

blog

पदकसहित याङतैन लामा ।

काठमाडौँ, असार १४ गते । ११औँ दक्षिण एसियाली खेलकुद (साग) को करातेमा स्वर्ण पदक जितेपछि सुनिल लामाको चर्चा नेपाली मार्सल आर्ट्स गेम्समा झनै चुलियो ।

नेपालमा कराते खेलबाट चर्चा बटुल्नुभएका सुनिलले विस्तारै आफ्नो कर्म क्षेत्र अमेरिका बनाउनुभयो । हाल अमेरिकाको न्युयोर्कमा बस्दै आउनुभएका सुनिलले आफ्नो सन्तान छोरालाई पनि सानै उमेरमा कराते खेलमा लगाउनुभयो ।

बाबु सुनिलकै प्रेरणाले पाँच वर्षको उमेरमा रिङमा होमनिुभएका याङतैन लामा अहिले कराते खेलमा आशलाग्दो खेलाडीको रुपमा उदाउनुभएको छ ।


१२ वर्षीय याङतैनले अहिले करातेका प्रतिभावान खेलाडीको रुपमा अमेरिकाका सञ्चार माध्याममा हेडलाइन बनाइरहनुभएको छ । सन् २०१३ मा काठमाडौँको रानीवनमा जन्मिनुभएका याङतैन २०१९ मा बाबु सुनिलसँगै अमेरिका जानुभएको थियो ।

नेपालमा छँदै करातेमा लाग्नुभएका याङतैनको कराते खेलले अमेरिका पुगेपछि झनै फैलिने मौका पायो । उहाँले अहिले प्रतिस्पर्धात्मक करातेमा प्रभावशाली ‘ट्रयाक रेकर्ड’ बनाईरहनुभएको छ । 

बुबाको पाइला पछ्याउँदै करातेको रिङमा होमिनुभएका याङतैनले सुरुमा स्थानीय प्रतियोगिताहरुमा प्रतिस्पर्धा गर्न थाल्नुभएको हो । उहाँले पाँच वर्ष मुनि, ७–८, ९–१०, र १०–११ वर्षसहित विभिन्न उमेर समूहमा धेरै स्वर्ण, रजत र कांस्य पदक जितिसक्नुभएको छ । 


उहाँको प्रदर्शन र उपलब्धिले अहिले अमेरिकी कराते समुदायको शीर्ष युवा खेलाडीमध्ये कै मान्यता पाएको छ । याङतैनले अमेरिकी राष्ट्रिय कराते महासङ्घका प्रमुख प्रशिक्षक, त्यहाँका राष्ट्रिय च्याम्पियनहरु, अन्तर्राष्ट्रिय कराते मास्टरहरु, स्तरीय प्रशिक्षकहरूको नेतृत्वमा प्रशिक्षण र सेमिनारमा पनि सक्रिय रुपमा भाग लिईरहनुभएको छ । 

करातेप्रतिको मोहले याङतैनलाई प्राविधिक विकास र प्रतिस्पर्धात्मक खेलहरुमा सहभागि गराउन बुबा सुनिलले पनि ठूलो सहयोग पुर्‍याउनुभएको छ ।

याङतैन अहिले जुलाई ९ देखि १३ तारिखसम्म टेक्सासमा आयोजना हुने युएस राष्ट्रिय कराते च्याम्पियनसिप–२०२५ अन्तर्गत १२–१३ वर्ष उमेर समूहको प्रतिस्पर्धामा भाग लिनका लागि तयारी गरिरहनुभएको छ ।

यदि याङतैनेले यस प्रतियोगिता जितेमा उहाँले करातेमा अमेरिकाको राष्ट्रिय खेलाडीको रुपमा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्नुहुनेछ ।


साथै उहाँ अमेरिकी राष्ट्रिय करातेको एलिट स्तरमा प्रतिनिधित्व गर्ने नेपाली मुलका पहिलो खेलाडी बन्नुहुनेछ । जुन उहाँको परिवार र नेपाली डायस्पोरा दुवैको लागि गर्वको क्षण हुनेछ । 

बुबा सुनिल पनि अहिले छोराको नयाँ उपलब्धिका लागि डटेर लाग्नुभएको छ । न्युयोर्कको वुडसाइडमा च्याम्पियन मार्शल आर्ट्स क्लब सञ्चालन गर्दै आउनुभएका सुनिल छोरासँगै अन्य कराते खेलाडीको पनि प्रेरणाको स्रोत बन्नुभएको छ ।