• ५ जेठ २०८१, शनिबार

पाल्पामा दुई औद्योगिक ग्राम बन्दै

blog

तस्बिर : रेखीराम पाल्पाको तानसेन–७, कुनसरेमा निर्माणाधीन औद्योगिक ग्राम ।

रेखीराम राना

पाल्पा, असार ३ गते । पाल्पा जिल्लाका दुई नगरपालिकाले औद्योगिक ग्राम निर्माणको कामलाई अगाडि बढाएका छन् । तानसेन र रामपुर नगरपालिकाले गत वर्षदेखि गुरुयोजना निर्माण गरेर औद्योगिक ग्रामका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाएका हुन् । 

तानसेन नगरपालिकाले तानसेन–७, कुनसरेमा औद्योगिक ग्राम निर्माणको कामलाई तीव्रता दिएको छ । गत वर्ष गुरुयोजना निर्माण गरेर तानसेन नगरपालिकाले आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । औद्योगिक ग्रामको गुरुयोजनाअनुरूप हाल कुनसरे क्षेत्रमा (बाउन्ड्री) पर्खाल लगाउने, जग्गा मिलाउने तथा तारजाली लगाउने काम भइरहेको तानसेन नगरपालिकाका प्रमुख इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

गत वर्ष नेपाल सरकारबाट प्राप्त ९२ लाख रुपियाँबाट टेन्डर गरेर औद्योगिक ग्रामका लागि आवश्यक संरचना निर्माण गरिएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । गुरुयोजनाअनुसार त्यस क्षेत्रमा ४५ करोड रुपियाँ लागतमा औद्योगिक ग्रामको सम्पूर्ण संरचना तयार हुनेछ । उहाँले औद्योगिक ग्राम निर्माणका लागि यो वर्ष भने केन्द्रबाट रकम नआएको बताउनुभयो । 

औद्योगिक ग्राम निर्माणपछि उक्त क्षेत्रमा २२ वटा स्टल रहनेछन् । घरेलु तथा साना उद्योगसमेत ग्रामभित्रै सञ्चालन गरिने योजना छ । जिल्लामा उत्पादित वस्तुको उत्पादन तथा बिक्री प्रवद्र्धनका लागि औद्योगिक ग्राम निर्माण गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिनुभयो । पाल्पाको तानसेनमा उत्पादन हुने ढाका र करुवाका स्टललाई विशेष प्राथमिकतामा राखेर स्टल तथा साना घरेलु उद्योग निर्माण गरिने उहाँले जानकारी दिनुभयो । 

रामपुर नगरपालिकाले भने गत वर्ष नै औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम सकेको जनाएको छ । रामपुर नगरपालिकाले वडा नं. ७ को विरेनटारमा ४२ रोपनी जग्गालाई घेराबार गर्ने, जग्गा व्यवस्थापन गर्ने तथा नदी कटानबाट जोगाउन पर्खाल लगाउने काम गरेको थियो । 

रामपुरमा औद्योगिक ग्राम निर्माण गर्न गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने र सङ्घीय सरकारबाट प्राप्त ९२ लाख रुपियाँमध्येबाट ७७ लाख खर्चमा पूर्वाधार निर्माणको काम गरिएको रामपुर नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिनुभयो । पाण्डेयले चालू आर्थिक वर्ष औद्योगिक ग्रामको संरचना निर्माण गर्न थप ८० लाख रुपियाँ प्राप्त भएको  जानकारी दिनुभयो । 

नगरपालिकाले तयार गरेको डीपीआरअनुसार २२ करोड रुपियाँमा रामपुरको औद्योगिक ग्राम निर्माण पूरा हुनेछ । रामपुरको औद्योगिक ग्रामभित्र बैङ्क तथा वित्तीय संस्था, स्थानीयस्तरमा रहेका साना तथा घरेलु उद्योग तथा तिनका स्टल तथा अव्यवस्थित रूपमा सञ्चालनमा रहेका साना उद्योग सञ्चालन गरिनेछ ।