• १३ असार २०८२, शुक्रबार

दोर्दी केन्द्र जोड्ने सडक कालोपत्र

blog

उदीपुर-रिठ्ठेबगर-नौथर सडक कालोपत्र गर्दै । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असार १३ गते । लमजुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक कालोपत्र गर्न सुरु गरिएको छ । सडकको अमेरिकन अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न थालिएको हो । 

यस प्रविधिको कालोपत्र टिकाउ, दिगो र उत्कृष्ट हुने प्राविधिकहरुले बताएका छन् । ७ दशमलव १२१ किलोमिटर लम्बाई रहेको सो सडक चालु आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र गर्ने गरि काम भइरहेको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले जानकारी दिनुभयो । आगामी असोजसम्म सबै सडक कालोपत्रे भइसक्ने सूचना अधिकारी जोशीले बताउनुभयो । रिट्ठेबगर क्षेत्रबाट कालोपत्रेको काम भइरहेको र विभिन्न दुई ठाउँमा एक हजार ११३ घनमिटर सडक ढलान गरिएको कार्यालयले जानकारी दिएको छ । 

२०७९ असार २ गतेभित्र कालोपत्र सक्नेगरी ठेक्का लगाइए पनि निर्माण व्यवसायीले समयमै काम नगर्दा ढिलाइ भएको थियो । निर्माण कम्पनीले पटक पटक गरि २०८१ मङ्सिर २८ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरे पनि सो समयमा पनि काम सम्पन्न हुन सकेको थिएन । हाल म्याद थप नभए पनि निर्माण कम्पन्नीले कालोपत्रको काम सुरु गरेको छ । 

प्रदेश सरकारको २६ करोड २९ लाख ६ हजार २२५ रुपियाँ लगानीमा सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाण्डौंले गर्दै आएको छ । कार्यालयका अनुसार यस वर्ष मात्र ४ करोड १० लाख रुपियाँ भुक्तानी भएको छ भने हालसम्म करिब २१ करोड रुपियाँ भुक्तानी भैसकेको छ । सडक कालोपत्रका लागि करिब २ करोड रुपियाँ अपुग हुने भएकाले स्रोत सुनिश्चितताका लागि पहल गरिएको कार्यालयले जानकारी दिएको छ ।

सडक कालोपत्र हुन थालेपछि स्थानीयहरु खुसी भएका छन् । यो सडक दोर्दी गाउँपालिकाको ‘लाइफलाइन’ सँग जोडिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । कालोपत्रको काम सम्पन्न भएपछि यात्रुहरुलाई यात्रा गर्न सहज हुनुको साथै स्थानीय उत्पादनको बजारीकरणमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।