राममणि दाहाल
मकवानपुर, असार १३ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिका– १ कुन्छालस्थित कुन्छाल–कुलेखानी सडकखण्डमा सवारीसाधनको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको घटनामा संलग्न सवारी साधनको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार थाहा नगरपालिका वडा नं. ६ स्थित वज्रबाराहीबाट पालुङतर्फ आउँदै गरेको सवारीसाधनले पैदल यात्रु थाहा नगरपालिका वडा नं. ६ का ७१ वर्षीय सीताराम महर्जनलाई ठक्कर दिएको थियो ।
सवारी साधनको ठक्करबाट गम्भीर घाइते भएका महर्जनको वज्रबाराही स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल, सतुङ्गलमा लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीको भनाइ छ ।
ठक्कर दिने सवारी साधन बा.प्र. ०३–००१ च १७८७ नं.को योद्धा (बलेरो) भएको पाइएको छ ।
सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दै जाने क्रममा थाहा नगरपालिका २ फाँट बजारबाट उक्त बलेरो गाडी र धादिङ जिल्ला थाक्रे गाउँपालिका १ का चालक वर्ष २२ का प्रकाश तामाङ र गाडीमा सवार थाहा नगरपालिका २ बस्ने वर्ष १८ को सुजल कार्कीलाई इलाका प्रहरी कार्यालयले पालुङले नियन्त्रणमा लिएको थियो ।
दुबै जनालाई इलाका प्रहरी कार्यालयमा ल्याइ सोधपुछ तथा अनुसन्धान गर्दा चालक मार्फत उक्त गाडीले ठक्कर दिएको गएराति १० बजे खुल्न आएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ । गाडी र दुबै जना इलाका प्रहरी कार्यालय पालुङको नियन्त्रणमा रहेका छन् ।