तनहुँ समाचारदाता
तनहुँ, असार १३ गते । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा विस्तारका क्रममा भत्किएको घाँसीकुवा र भानु–घाँसी स्मारक पार्कको पुनर्निर्माण हुनुपर्ने माग राखिएको छ । राजमार्ग विस्तारको काम अन्तिम चरणमा पुग्दा समेत पुनर्निर्माण नभई कुवा तथा उद्यान सङ्कटमा परेपछि स्थानीयले यस्तो माग राखेका हुन् ।
भानुभक्त आचार्यलाई आदिकवि बनाउने प्रेरणा स्थल पुनर्निर्माण नहुँदा स्थानीय चिन्तित छन् । पूर्वी खण्डको म्याद यही असार मसान्तसम्म भएको र विस्तारको काम पूरा हुन लागेकाले पुनर्निर्माण नहुने हो कि भनेर स्थानीय चिन्तित बनेका छन् । भत्काइएको कुवा र पार्क तुरुन्त पुनर्निर्माण हुनुपर्ने माग स्थानीयको छ ।
घाँसीकुवा साहित्यिक तीर्थस्थल भएकाले तुरुन्त पुनर्निर्माण गरिनुपर्ने भए पनि अलपत्र परेको देख्दा दुःख लागेको भानु–घाँसी स्मारक पार्क संरक्षण समितिका सदस्य प्रेमप्रकाश भट्टराईले बताउनुभयो । व्यास नगरपालिका–११, पोल्याङ, घाँसीकुवा निवासी भोजराज पन्थ घाँसीकुवा पुनर्निर्माण नहुँदा चिन्ता लागेको बताउनुहुन्छ । पन्थले भन्नुभयो, “जिजुबाजेदेखि जोगाउँदै आएको स्थान भएकाले यसलाई भत्काएर इतिहास मेट्न हुँदैन । सबैले संरक्षणमा ध्यान दिनुपर्ने हुन्छ ।”
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्काले पुनर्निर्माणको माग राखे पनि हालसम्म पुनर्निर्माण हुन नसक्दा दुःख लागेको बताउनुभयो । देशभक्ति, मौलिकता र सुधारवादी चेतना छर्ने आदिकवि भानुभक्त आचार्यको नाउँमा निर्माण गरिएको कुवा, सालिक र भानु पार्क यथाशीघ्र पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग माग राख्दै आए पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।
नेपाली साहित्यको प्राथमिक कालका कवि भानुभक्त आचार्यले नेपाली भाषालाई सरल, सहज, सरस र शुद्ध तुल्याई भाषालाई समृद्ध बनाई भाषाका माध्यमबाट नेपालको एकीकरणमा बल पुर्याएकाले उहाँलाई नेपालको राष्ट्रिय विभूति मानिएको स्मरण उहाँले गर्नुभयो ।
पृथ्वी राजमार्गको छेउ घाँसीकुवामा धेरै समयअघि निर्मित अर्धकदको सालिक र भानु पार्कले गर्दा त्यो ठाउँ घाँसीकुवा र साहित्यिक पार्कका नामले विकसित भई चम्किरहेको स्मरण गरिएको छ । अहिले सडक फराकिलो बनाउने क्रममा विगत केही समयदेखि त्यो पार्क भत्काइएको हुनाले अन्धकार बन्न पुगेकाले पुनर्निर्माणको माग राखिएको उहाँले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाका प्रमुख न्यौपानेले न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेकाले घाँसीकुवाको संरक्षण गरिने बताउनुभयो ।