• १३ असार २०८२, शुक्रबार

हिल्सा सिमकोट सडकको चिनीयाँ विज्ञ टोलीद्वारा अध्ययन

blog

हिल्सा सिमकोट सडकको च्याछरा खण्डको स्थलगत रुप्मा अध्ययन गर्दै चिनीयाँ विज्ञ टोली । तस्बिर : राजन रावत

राजन रावत
हुम्ला, असार १३ गते । चीन सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हिल्सा सिमकोट सडकको चिनीयाँ विज्ञ टोलीद्वारा संभाव्यता अध्ययन गर्ने कार्य पूरा भएको छ । चिनीयाँ टोलिले चार दिन लागाएर सो  सडकको संभाव्यता अध्ययन गर्ने कार्य पूरा गरेका हुन् ।

दुई देशबिच हिल्सा सिमकोट सडकको स्तरोन्नती गर्ने सम्झौतालाई कार्यान्वयन गर्नका लागि चिनीयाँ विज्ञ टोलीद्वारा हिल्साबाट सिमकोटसम्मको सडकको संभाव्यता अध्ययन गर्ने कार्य पूरा भएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीन भ्रमणका क्रममा ९५ किलोमिटर रहेको हिल्सा सिमकोट सडकको स्तरोन्नती तथा कालोपत्रे गर्न चिनीयाँ पक्षसँग सम्झौता भएको थियो । दस जना चिनीयाँ विज्ञ टोलीमध्ये दुई जना दूतावास र आठ जना विभिन्न क्षेत्रका विज्ञले सो क्षेत्रको अध्ययन गरेको योजना प्रमुख नेपालीले जानकारी दिनुभयो ।

यससँगै अब तुम्कोटबाट इलिङ लेक नभएर कर्णाली नदीको किनारबाट याल्वाङसम्म सडक निर्माण गरिने छ । स्थलगत रुपमा हिल्साबाट सिमकोटसम्म पुगेको टोलीले सडक चौडाइ, मोड घटाउने, दूरी छोटो पार्ने, ग्रेड मिलाउने, नाला निर्माण स्थलको पहिचान, प्लम्प वाल निर्माण गर्नुपर्ने क्षेत्रको पहिचान, निर्माण सामग्री राख्ने स्थानको छनोट, बिबादित स्थानका बारेमा अध्ययन गर्ने कार्य गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी सडक क्षेत्रका स्थानको धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्षबारे पनि टोलीले अध्ययन गरेको छ । सडक क्षेत्रको माटोको समेत परीक्षण गरिने छ ।

यो पहिलो चरणमा आएको टोलीले केही महत्त्वपूर्ण विवरण लिने कार्य गरेको छ भने दोस्रो टोली पनि चाँडै आउने र सो टोलीले विस्तृत विवरण सङ्कलन गर्ने छ ।

हाल कच्ची रुपमा रहेको सो सडकको निर्माण तथा कालोपत्रे गर्ने कार्य तीन वर्षमा सम्पन्न गरिने छ । टोलीले नाँम्खा र सिमकोट गाउँपालिकाका जनप्रतिनिधिहरु र प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गरेको छ । हिल्सा सिमकोट सडक योजनाले उक्त सडकको विवरण पनि टोलीलाई हस्तान्तरण गरेको छ ।