• ३ साउन २०८२, शनिबार

एमाले पोलिटब्युरो बैठक च्यासलमा सुरु

blog

पार्टी मुख्यालय च्यासलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक ।

काठमाडौँ, साउन ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केही बेरअघि बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि आज पनि पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राख्नुहुने तालिका छ । 

प्रचार विभाग प्रमुख गौतमका अनुसार शुक्रबार बोल्न बाँकी पोलिटब्युरो सदस्यहरूले आज विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि धारणा राख्नु हुने छ । शुक्रबार सात जना पोलिटब्युरो सदस्यले विधान संशोधनमाथि धारणा राख्नुभएको थियो । 

विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । साथै पदाधिकारी सङ्ख्या १५ जनासहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ । 

प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने प्रस्ताव गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रूपमा मानिएको थियो । विधान महाधिवेशन केन्द्रीत पोलिटब्युरो बैठक आज समापन गर्ने कार्यतालिका उहाँले जानकारी दिनुभयो । 

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ । रासस