लमजुङ समाचारदाता
लमजुङ, असार ११ गते । लमजुङको दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने भएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन हुने गरी गाउँपालिकाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति तथा कार्यक्रम प्रस्ताव गर्नुभएको हो ।
दोर्दी गाउँपालिकामै चुलो बाली स्थायी रूपमा बसोबास गरिरहेका सबै घरपरिवारको स्वास्थ्य बिमा गरिदिने अध्यक्ष अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार दोर्दीमा सञ्चालित जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य बिमा गरिने छ । यसका लागि ‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नारा तय गरिएको छ । दोर्दी गाउँपालिकामा हाल पाँच वटा आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
दोर्दी गाउँपालिकाभित्र चार हजार २२५ घरपरिवार रहेको र सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न एक करोड ५० हजार रुपियाँ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेले बताउनुभयो । १७ औँ गाउँ अधिवेशन सभामा प्रस्तुत बजेटमा निःशुल्क स्वास्थ्य बिमा गर्दा परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा थप रकम उपलब्ध गराएर बिमा गराइदिने व्यवस्था गरिएको छ ।