• ७ असार २०८२, शनिबार

जङ्गली जनावर तर्साउन जडान गरिएको विद्युतीय धरापले किसानकै ज्यान लिँदै

blog

जङ्गली जनावरबाट बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय धराप । तस्बिर : गोरखापत्र

विजयकुमार साह 

ढल्केबर, असार ७ गते । जङ्गली जनावरलाई तर्साउन खेतमा जडान गरिएका विद्युतीय धरापले किसानका लागि नै ज्यानमारा साबित हुन थालेका छन् । 

बिहीबार धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरकी ५० वर्षीया मङ्गलीदेवी महतोको यस्तै विद्युतीय धरापमा परेरमा ज्यान गयो ।

स्थानीय किसान रामप्रमोद महतोले जङ्गली जनावरबाट आफ्नो खेतको अन्नबाली जोगाउन बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर उहाँको मृत्यु भएको प्रहरीको भनाइ छ । सँगै टाँसिएर रहेको आफ्नो खेतमा काम गर्ने क्रममा मङ्गलीदेवी झुक्किएर नाङ्गो तार छुन पुग्नुभएको थियो । 

पाँच महिना अघि पनि सोही क्षेत्रमा किसान गर्भु महतोले खेतमा जडान गरेको विद्युतीय तारमा करेन्ट लागेर २० वर्षीय मिथलेशकुमार महतोको ज्यान गएको थियो । त्यसअघि धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको पनि त्यस्तै घटनामा मृत्यु भएको थियो । 

पछिल्ला केही वर्षदेखि धनुषा जिल्लाको उत्तरी भेगका किसान जङ्गली जनावरले खेतको अन्नबाली नोक्सानी गर्न थालेपछि त्यसबाट बाली सुरक्षित राख्न किसानले विद्युतीय धराप बिच्छ्याउने गरेका छन् । खेतमा लगाइएका धान, मकै, गहुँ, तरकारीजस्ता मुख्य बाली खाएर नोक्सानी पुर्‍याउने गरेको स्थानीय किसानको गुनासो छ ।

यस्ता जनावरको झुण्ड खेतमा पसेपछि पूरै बाली नष्ट गरिदिन्छन् । कतिपय अवस्थामा रोपेको बाली उखेलिदिने, पाकेको बाली खाइदिएर नष्ट गरिदिने गरेका छन् ।

स्थानीय सुरज महतोले वन्यजन्तुले दिनदिनै खेतको अन्नबाली सखाप बनाउन थालेपछि किसानले खेतको चारैतिर नाङ्गो तार तानेर त्यसमार्फत करेन्ट प्रवाह गर्ने असुरक्षित उपाय अपनाउन थालेको बताउनुभयो ।

यसले गर्दा अन्नबाली जोगिए पनि यो जोखिमपूर्ण उपाय किसानकै लागि घातक बन्न थालेको उल्लेख गर्दै उहाँले खेतमै काम गर्ने आफन्त, छिमेकी वा पशु समेत यसबाट घाइते वा मृत हुने घटना बढ्दै गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकार तथा सम्बन्धित निकायले वैकल्पिक प्रविधि र चेतनामूलक कार्यक्रम तत्काल नल्याएसम्म यस्तो असुरक्षित उपाय किसानले अपनाइरहने छन् ।   

ढल्केबरका अर्का स्थानीय महेश महतोले यस्ता गतिविधिमा संलग्नलाई कानुन अनुसार कडा कारबाही हुनुपर्ने बताउनुभयो । गाउँमा पटकपटक यस्तो घटना हुने गरेको बताउँदै उहाँले बाली सुरक्षाका लागि अन्य विधि अपनाउनुपर्ने जानकारी दिनुभयो । 

विद्युत प्राधिकरण सखुवा महेन्द्रनगर शाखाका प्रमुख प्रविणकुमार मिश्रका अनुसार नेपालमा खेतबारी जोगाउन करेन्ट प्रवाह गरिने व्यवस्था वैधानिक नभएको बताउनुभयो । खुला रूपमा नाङ्गो तारमा करेन्ट प्रवाह गर्न पाइँदैन ।

त्यसरी जडान गरिएको भेटिए नियन्त्रणमा लिएर कारबाही चलाउने गरिएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार यस्तो अवस्थामा विद्युत् प्राधिकरण क्षतिपूर्तिको जिम्मेवार नहुने व्यवस्था छ ।