• ७ असार २०८२, शनिबार

नेपाल आर्ट काउन्सिलमा ‘झिम्माई’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । नेपाल आर्ट काउन्सिलमा  ‘झिम्माई’ शीर्षकमा तीनदिने बहुआयामिक कला प्रदर्शनी सुरु भएको छ । 

प्रदर्शनी फोटोग्राफर नवीन बराल, चित्रकार विष्णु परियार (श्री) र कथा प्रस्तुतीकरणमा सक्रिय रेडियो फोटो पत्रिका साथी (रेफोपसा) को संयुक्त सहकार्यमा आयोजना भएको हो ।

‘झिम्माई’ ले छायाकला, चित्रकला र वृत्तचित्र गरी तीन फरक विद्यालाई एउटै मञ्चमा ल्याएको छ । प्रदर्शनी सन् २०१० मा बरालले दोलखाको चिया पसलमा खिच्नुभएको एक महिलाको तस्बिरमा आधारित छ । प्रदर्शनीले यथार्थ र प्रतिनिधित्वबिचको खाली ठाउँलाई प्रस्ट्याउँछ ।  ‘झिम्माई’ ले दर्शकलाई सौन्दर्य हेर्न मात्र होइन, असहज यथार्थसँग अवगत हुन निमन्त्रणा दिने बराल बताउनुहुन्छ । तस्बिरमा लुकेको यथार्थले आजको समाजमा कलाको भूमिकालाई थप स्पष्ट पार्ने काम गरेको उहाँको भनाइ छ । प्रदर्शनीमा राखिएका चित्रले असमानता, वृद्धावस्था र आर्थिक अन्योलबिचको सङ्घर्षरत जीवनलाई झल्काउँछ ।