• ६ असार २०८२, शुक्रबार

रोशी खोलामा फसेका पाँच जनाको उद्धार

blog

रोशी खोलामा आएको बाढीका कारण खोलाको बिचमा फसेका पाँच जनाको उद्धार । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना
बनेपा, असार ६ गते ।
वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण खोलाको बिचमा फसेका पाँच जनाको उद्धार गरिएको छ । बिहीबार राति रोशी खोलामा आएको बाढीका कारण नमोबुद्ध नगरपालिका–५ लासकोटमा पाँच जना, एउटा जेसिबी र एउटा टिप्पर खोलाको बिचमा फसेका थिए ।

पाँच जना मानिस खोलाको बिचमा फसेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेको प्रहरी टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोलाको उहाँको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

सुरक्षा टोलीले ओखलढुङ्गा दुधकोशी गाउँपालिका– ४ का मजदुर काम गर्ने सागर राई, नमोबुद्ध नगरपालिका– ५ का टिप्पर चालक मुस्कान तामाङ, तेमाल गाउँपालिका– ५ का निर्माण व्यवसायी सन्जय लामालाई उद्धार गरेको हो ।

यस्तै तेमाल गाउँपालिका–९ का टिप्पर चालक रेमन तामाङ र दोलखा भिमेश्वर नगरपालिका –९ का जेसिबी चालक समिर तामाङको उद्धार गरिएको प्रहरीले जनाएको छ ।