• १२ असार २०८१, बुधबार

धनगढीको खोलानालामा भएको अतिक्रमण हटाउने काम सुरु

blog

धनगढीको कैलाली खोलामा भएको अतिक्रमण हटाइदै । तस्बिर : कलम साउँद

अविनाश चौधरी

धनगढी, असार १ गते । कैलालीको धनगढीस्थित खोलानालामा भएको अतिक्रमण हटाउने काम सुरु गरिएको छ । खोलानालामा अतिक्रमणका कारण डुबान समस्या बढ्दै गएकाले धनगढी उपमहानगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन सुरु गरेको हो । 

अतिक्रमण हटाउने कार्यको सुरुवात धनगढी उपमहानगरपालिका–५ को तारानगरस्थित बालबिहानीबाट सुरु गरिएको छ । अतिक्रमित क्षेत्र डोजर लगाएर खाली गराइएको छ । यहाँ रहेको कैलाली, सुकुटीनाला अतिक्रमण हुँदा पानीको निकास सहज छैन । खोलानाला क्षेत्रमा विभिन्न संरचना बनाइएका छन् । 

खोलानाला अतिक्रमण गरी संरचना बनाइएपछि पानी रोकिएर धनगढीको पार्क क्षेत्र, एलएनचोक, ऐश्वर्य विद्या निकेतन क्षेत्रलगायतका ठाउँमा पानी जम्ने समस्या रहेको छ । बर्खा याममा यी क्षेत्रहरु थोरै वर्षा भएपछि पनि जलमग्न हुनेगरेका छन् । 

धनगढी डुबानको मुख्य कारण खोलानाला अतिक्रमण रहेकाले डुबान समस्या समाधानका लागि अतिक्रमण हटाउन थालेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो । 

‘खोलानालामा भएको अतिक्रमण नहटाउँदासम्म डुबान समस्या समाधान हुँदैन’, उहाँले भन्नुभयो । ‘डुबान समस्या समाधान गर्न अतिक्रमित क्षेत्र खाली गराउन थालेका छौं’ मेयर हमालले आफ्नो ठाउँमा भएको अतिक्रमण खाली गरेर सहयोग गरिदिन नगरवासीलाई अनुरोधसमेत गर्नुभयो । 

पानीको प्राकृतिक बहाव रोक्नेगरी खोलानाला क्षेत्रमा संरचना निर्माण भएका छन् । जसले पानीको सहज निकास छैन । थोरैमात्र पानी प¥यो भने पनि धनगढीको पार्कमोडदेखि लिएर विभिन्न क्षेत्र जलमग्न हुनेगरेको छ । खोलानाला अतिक्रमण गरी प्राकृतिक बहावलाई रोक्ने कार्य भएकाले डुबान समस्या समाधानका लागि अतिक्रमित क्षेत्र खाली गराउन आवश्यक रहेको मेयर हमालले बताउनुभयो । ‘खोलालाई पुरानै बहावमा बग्न दिन आवश्यक छ’, उहाँले भन्नुभयो । 

खोलानालामा भएको अतिक्रमण हटाउने धनगढी उपमहानरपालिकाको अभियानको नगरवासीले स्वागत गरेका छन् । डुबान समस्याबाट छुटकारा पाउन अतिक्रमण हटाउन आवश्यक रहेकोे उहाँहरुको भनाइ छ ।   

धनगढी उपमहानगरपालिका –५ तारानगरका रविनकान्त पन्तले कैलाली र सुकुटी खोला किनारमा आफ्नो धेरै जग्गाजमिन रहेको भन्दै अतिक्रमण हटाउने कार्यमा पूर्ण साथ दिने बताउनुभयो । यसैगरी, धेरै नगरवासीले राम्रो काम सुरुवात गरेको भन्दै नगरपालिका र जनप्रतिनिधिको प्रशंसा गरेका छन् ।