• ३ असार २०८२, मङ्गलबार

पढ्दै, कमाउँदै कार्यक्रम

विद्यार्थी र अभिभावकको बढ्दै आकर्षण

blog

च्याउखेतीबारे जानकारी लिँदै विद्यार्थी ।

मनाङ समाचारदाता

मनाङ, असार ३ गते । सामुदायिक विद्यालयमा व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै, कमाउँदै कार्यक्रम मनाङमा प्रभावकारी बन्दै गएको छ । चामे गाउँपालिकाको वडा नं. ४ मा रहेको लोकप्रिय माविले आफ्नै विद्यालय परिसरमा तरकारी खेती गर्दै विद्यार्थीलाई काममा लगाएको छ । 

एकातिर विद्यालयमा सिकेको सिपले विद्यार्थीलाई व्यावहारिक बनाउँदै आयस्तरसँग जोड्न मद्दत पुगेको छ भने अर्कोतिर तरकारी बिक्रीबाट आम्दानी गर्न विद्यार्थीलाई सघाउ पुगेको छ । आफ्नो विद्यालयले उत्पादन गरेको च्याउ तथा तरकारी चामे सदरमुकाममा बिक्री हुने गरेको प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । विद्यालयले विगत तीन वर्षदेखि च्याउ खेती गर्दै आएको छ । उहाँले भन्नुभयो, “व्यावसायिक शिक्षा, आत्मनिर्भरता र व्यावहारिक सिप विकासका लागि सञ्चालन गरिएको कार्यक्रम विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको छ ।”

यही वैशाखदेखि जेठसम्म १५० किलोग्राम च्याउ उत्पादन गरिएको प्रधानाध्यापक कोइरालाले जानकारी दिनुभयो । च्याउसँगै विद्यालयले आलु, गोलभेँडालगायत तरकारीको खेती गरेको छ । यसमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी भइरहेका छन् । प्रअ कोइरालाले विद्यालयले स्याउ खेती गर्ने योजनासमेत बनाएको बताउनुभयो तर जग्गा अभावले स्याउ खेती गर्न समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले व्यावहारिक कृषि शिक्षालाई केन्द्रमा राख्दै विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै आएका छौँ । च्याउ र तरकारी उत्पादनसँगै अब हामी घरेलु साबुन उत्पादन गर्ने लक्ष्य लिएका छौँ र त्यसका साथै स्याउ खेती योजनामा भए पनि जग्गा पाइसकेका छैनौँ ।”

कुटो, कोदालोलगायत औजार चलाउन नजानेका विद्यार्थीका लागि सिकाइ उपयोगी बनेको छ । पढ्दै, कमाउँदै कार्यक्रमका लागि कृषि ज्ञान केन्द्रमार्फत प्राविधिक सहयोग भइरहेको र आवश्यक साझेदारी भइरहेको छ । विद्यालयलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (लमजुङ–मनाङ) र चामे गाउँपालिका कृषि शाखाबाट बिउबिजन, मल, प्राविधिक सहयोग तथा अन्य विविध सहयोग प्राप्त हुँदै आएको छ । यस्ता सहयोगले विद्यालयको कृषि कार्यक्रमलाई अझ सशक्त बनाएको विद्यालयले जनाएको छ ।

लोकप्रिय मावि आवासीय विद्यालय भएकाले खाद्यान्न खरिद तथा बासको व्यवस्थापनमा सहयोग पु¥याउने गरी आम्दानी गर्ने लक्ष्य लिइएको विद्यालयले जनाएको छ । सकेसम्म विद्यार्थीबाट शुल्क लिन नपरोस् भनेर योजना बनाइएको विद्यालयले जनाएको छ । स्थानीय उपभोक्ताले विद्यालयको उत्पादनलाई ताजा, स्वच्छ र विषादीरहित भएको भन्दै खरिद गर्ने गरेका छन् । यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक शिक्षा र उद्यमशीलताको बाटोतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ ।