खाँदबारी समाचारदाता
खाँदबारी (सङ्खुवासभा), असार ३ गते । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा बेपत्ता भएका नागरिकको अवस्था अझै थाहा नहुँदा उनीहरूका परिवार अन्योलमा परेका छन् । सङ्खुवासभा पाँचखपन नगरपालिका–३ का अमरबहादुर कटुवाल २०५८ साल चैतमा बेपत्ता हुनुभयो । छोरी भगवती कटुवाल भन्नुहुन्छ, “बुवा बेपत्ता हुनुभएको २४ वर्ष बित्यो तर खोजीमा स्थानीय र परिवारबाहेक कसैले सथा दिएका छैनन् । उहाँलाई सुराकीको आरोप लगाएर जबरजस्ती लगिएको थियो ।”
यस्तै पाँचखपन नगरपालिका–७ का पदमबहादुर दर्जी २०५२ सालमा गाउँबाटै बेपत्ता हुनुभयो । उहाँको खोजीका लागि परिवारले विभिन्न निकायमा धाउँदा पनि कुनै जानकारी फेला परेको छैन । बेपत्ता दर्जीका छोरा विष्णु दर्जी अहिले २८ वर्षको भइसक्नुभयो । विष्णुले भन्नुभयो, “बुवा हराउँदा म दुई वर्षको थिएँ रे । अहिलेसम्म न त बुवा फर्कनुभयो, न त राज्यले तयार गरेको बेपत्ता नागरिकको सूचीमा उहाँको नाम समावेश छ ।”
पाँचखपनकै अर्का अम्बरबहादुर कालिकोटे पनि करिब ३० वर्षदेखि बेपत्ता हुनुहुन्छ । घरमा केही नबताई बाहिर निस्किनुभएका अम्बरबहादुर फर्केर नआउँदा परिवार पीडामा छन् । उहाँका दुई छोरी, दुई छोरा र श्रीमती अझै पनि उहाँ फर्केर आउने आशामा छन् ।
परिवारजनका अनुसार हराएका आफन्तको खोजी प्रक्रिया राज्यको तर्फबाट औपचारिक रूपमा नहुनु मुख्य समस्या हो । बेपत्ता व्यक्तिको अवस्था अस्पष्ट रहँदा काजकिरिया गर्न, सम्पत्ति हस्तान्तरणलगायत विविध सामाजिक कानुनी काम गर्न कठिनाइ भएको उहाँहरूको भनाइ छ ।
यसैबिच पाँचखपन नगरपालिका–७ का वडाध्यक्ष सन्तोष बस्नेतले वडास्तरबाट हराएका व्यक्तिको विवरण सङ्कलन र खोजी प्रक्रिया सुरु गरिएको बताउनुभयो । वडाले गाउँमा द्वन्द्वका कारण बेपत्ता भएका नागरिकको अभिलेख तयार गर्न थालेको अध्यक्ष बस्नेतको भनाइ छ ।
बेपत्ता नागरिकको खोजी र अभिलेख तयार गर्ने प्रक्रियामा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सङ्खुवासभाले पनि सहजीकरण गर्दै आएको जनाएको छ । शाखा सभापति सरोज वज्राचार्यका अनुसार रेडव्रmसले परिवारको मनोपरामर्श, विवरण अभिलेखीकरण र सम्बन्धित निकायसम्म समन्वय गरिदिने कार्यमा सव्रिmयता देखाउँदै आएको छ । उहाँले भन्नुभयो, “द्वन्द्वमा हराएका नागरिकका परिवारको पीडा बुझ्न राज्य र संस्था अझ संवेदनशील हुन आवश्यक छ ।”
पीडित परिवारले राज्यलाई बेपत्ता नागरिकको खोजी, सत्यनिरूपण तथा न्याय सुनिश्चित गर्न आग्रह गर्दै आएका छन् ।