खलङ्गा समाचारदाता
दार्चुला, असार ३ गते । एडिस एजिप्टाई र एजिप्ट एल्वोपिक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगविरुद्ध सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाले समुदाय र विद्यालयस्तरमा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले डेङ्गुलगायत कीटजन्य रोग नियन्त्रणका लागि समुदाय र विद्यालयस्तरमा स्वास्थ्य शिक्षा दिने योजना बनाएको स्वास्थ्य शाखा प्रमुख जयबहादुर फस्र्वानले जानकारी दिनुभयो ।
डेङ्गु नियन्त्रणका लागि स्थानीय तहसँग छुट्टै बजेट हुने तथा पालिकाले समुदाय र विद्यालयस्तरमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख वीरेन्द्र भट्टले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालयले परीक्षणका लागि आवश्यक किट स्थानीय तहलाई उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।
महाकाली नगरपालिका–४ र ५ मा समूह बनाएर डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा र फुल नष्ट गर्ने अभियानसँगै समुदाय र विद्यालयस्तरमा जनचेतनामूलक सन्देशसहितको स्वास्थ्य शिक्षा प्रदान गर्ने महाकाली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत अधिकृत लालजिरा रावत भट्टले बताउनुभयो । अभियान मङ्गलबारदेखि लगातार तीन दिनसम्म सञ्चालन गरिने बताइएको छ । खुला गरेर राखिएका ड्रम, पुराना टायर, गमला, छतमा जम्मा भएको पानीलगायतमा यी लामखुट्टेले अन्डा पार्ने गरेको उहाँले जानकारी दिनुभयो । दार्चुलामा चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा १९ जना महिला र १४ जना पुरुष गरेर ३३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ भने गत आव २०८०/८१ मा ४७ जना पुरुष र ४४ जना महिला गरेर ९१ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले जानकारी दिनुभयो ।