• १८ असार २०८१, मङ्गलबार

शिखाले भोगेको हिंसा

‘केस नम्बर ३११’

blog

सुकृत नेपाल

काठमाडौँ,असार १ गते । ‘केस नम्बर ३११’ बिलकुलै भिन्न शैलीको नाटक हो । महिलामाथि हुने हिंसा र त्यही हिंसाले पार्ने मानसिक असन्तुलनलाई नाटकमा भिन्न ढङ्गबाट प्रस्तुत गर्न खोजिएकोे नाटकका सहजकर्ता परिवर्तनले बताउनुभयो । नाटकले मूलतः डी.आई.डी. (डसोसिएटिभ आइडेन्टिटी डिसअर्डर)का बारेमा नाटकमार्फत खोजी गर्ने काम गरेको छ । 

नेपालमा अझै पनि मानसिक स्वास्थ्यलाई गम्भीर रूपमा लिने चलन छैन । हाम्रो मानसिकता कस्तो छ भने हामीलाई सानातिना चोटपटक जस्तै पेट दुख्दा, हातखुट्टामा चोटपटक लाग्दा हामी आत्तिएर हत्तनपत्त अस्पताल दौडिहाल्छौँ तर आफूभित्रको मानसिक सन्तुलन ठीक भएन वा भनौँ मानिसको स्वास्थ्यमा समस्या देखियो भने त्यसलाई हामी घरपरिवारभित्र नै दबाएर राख्ने कोसिस गर्छौं ।

हाम्रो यस्तो प्रवृत्तिले अन्ततः भयावह परिणाम निस्कन सक्छ । यिनै कुराभित्र नाटक घुमेको छ । नाटकमा १९ वर्षीय शिखा शर्मा (अनामिका रिजाल)ले भोगेको हिंसा र त्यही हिंसाका कारण उनीभित्र उत्पन्न भएका मानसिक अवस्थालाई नाटकमा चित्रण गर्न खोजिएको छ । 

असार ३ गतेदेखि असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच ४ र ५ का प्रशिक्षार्थीले गर्नुहुनेछ । नाटकको सहजकर्ताका रूपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउँदै हुनुहुन्छ भने नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा र सुशील बरालले गर्नुभएको हो । 

तीन महिना लामो अभिनय प्रशिक्षण पश्चात् तयार पारिएको नाटकले डी.आई.डी.जस्तो गम्भीर मानसिक स्वास्थ्यको विषयलाई उठाएको नाटकका सहजकर्ता परिवर्तनले बताउनुभयो । नाटकमा गम्भीर मानसिक स्वास्थ्यको विषयलाई उठान गरेका कारण दर्शकको माया पाउने सहजकर्ता परिवर्तनको विश्वास छ ।

नाटकमा एलिसा भोग, अदित भुजेल, प्रतीक राउत, दिव्य अमृत, अनामिका रिजाल, प्रतिभा रिमाल, झलक थापा, मनीषा केसी, दिप्सना विश्वकर्मा, सुशील बराल, पालमती थापा, सुरज तिवारी, गोपाल भुसाल, कमल तामाङको अभिनय हेर्न पाइनेछ ।