• ३ असार २०८२, मङ्गलबार

बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

blog

विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोला । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, असार ३ गते ।
सोमबार राति परेको पानीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ । बाढीले विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाको डाइभर्सन बगाउपछि रातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

वर्षातका कारण अचानक पानीको बहाव बढ्न गई डाइभर्सन माथिबाट पानि बगेपछि राजमार्ग बन्द भएको हो । गएराति नवलपुर क्षेत्रमा भिषण वर्षा भएको थियो ।

डाइभर्सन मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहे पनि बाढीको बहाव नघटेकाले समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी मधु नेपालले जानकारी दिनुभयो ।

गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा दुम्किवासस्थित विनयी खोलाको २ सय ४५ मिटर लामो पुरानो पुल भाँचिएपछि डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । खोलाले यो डाइभर्सनमा अवरोध गरेको यो पाँचौँ पटक हो ।

राजमार्ग अवरुद्ध हुँदा मालबाहक बाहेक यात्रुबाहक बस र साना गाडीहरु होङ्सी सिमेन्टको गेट हुँदै, सर्दि–दुम्किबास बजार निस्किने गरेका प्रहरीले जनाएको छ । तर दुम्किबास दाउन्नेको उकालो उक्लिन पनि गाडीहरुलाई समस्या भइरहेको छ ।

दाउन्नेको उकालो सडक हिलाम्मे र चिप्लो भएकाले सवारी साधन सञ्चालनमा समस्या भएको हो । जसका कारण दुम्किबास क्षेत्रमा पनि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

धेरैजसो सवारी साधनहरु, अरुणखोला, दुम्किबास र होङ्सीगेटतर्फ रोकिएका छ्रन् । त्यहाँ करिब दुई सय सवारी साधनको लाइन लागेको नेपालले जानकारी दिनुभयो । जसका कारण सवारी साधनका चालक तथा सयौं यात्रु समस्यामा परेका छन् ।

दाउन्नेमा निर्माणाधीन नयाँ पक्की पुल आउँदो असार १४ गतेदेखि सञ्चालन हुने बताइएको छ । नारायणघाट–बुटबल सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्दछ । यही जेठ २३ गते पुलको अन्तिम स्पानको ढलान सकिएको हो ।