• २० असार २०८१, बिहिबार

आज मधेश प्रदेश सरकारले बजेट ल्याउँदै

blog

जनकपुर, असार १ गते । मधेस प्रदेश सरकारले आज (बुधबार) आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष २०७९-०८० को आर्थिक बिनियोजन विद्येयक(बजेट) आज दिउँसो ४ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गरिने प्रदेश सभा सचिवालयले जनाएको छ ।

चालु वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरिएको छ । चालु आर्थिक वर्षकै आकारमा बजेट आउने मधेश प्रदेशका अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री साहले विभिन्न कारणले सामान्यीकरण अनुदान, विशेष अनुदान र समपुरक अनुदानमा चालु वर्षको भन्दा कम वा सोही हाराहारीमा रकम बिनियोजन हुन सकिने अनुमान रहेको बताउनुभयो । 

यसअघि मन्त्री साहले प्रदेश सभाको बैठकमा बिनियोजन विद्येयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु अर्थात् प्रि–बजेटउपर गत शुक्रबार नै पेस गरिसक्नु भएको थियो । 

प्रि–बजेटका प्राथमिकतामा कृषी क्षेत्रको विकास, उद्योग प्रवद्र्धन, भौतिक पुर्वाधार निर्माण, सामाजिक क्षेत्र (मानवीय बिकास), पर्यटन क्षेत्र, सामाजिक सुरक्षा, सेवा प्रवाह र सुशासन राखिएको छ । विनियोजन विधेयक २०७९ का सिद्धान्त र प्राथमिकताको आधारमा तयार हुने बजेटले उच्च र फराकिलो आर्थिक वृद्धि दर हासिल गरी मधेश प्रदेशको समृद्धिमा योगदान पुग्ने मन्त्री साहले विश्वास व्यक्त गर्नुभएको थियो ।

मधेस प्रदेश सरकारको आह्वानमा गत जेठ १९ गतेदेखि प्रदेश सभाको नवौं अधिवेशन जारी रहेको छ । प्रदेश सरकारले (तत्कालीन प्रदेश २ सरकार) आर्थिक वर्ष २०७८-०७९ का लागि कुल ३३ अर्ब ६६ करोड ४२ लाख ८४ हजार रूपियाँको बजेट पारित गरेको थियो । भने आर्थिक वर्ष २०७७-७८ का लागि कुल ३३ अर्ब ५६ करोड नौ लाख ८९ हजारको बजेट थियो ।

Author

धीरेन्द्रप्रसाद साह