प्रेमराज सिम्खडा
कालीकोट, असार १ गते । कालीकोट जिल्लाका स्थानीय तहको बेरुजु एकपछि अर्को गरेर थप हुँदै आएको छ । बेरुजु रकम घट्दै जानुको सट्टा कालीकोटका स्थानीय तहमा झन थपिँदै आएको हो । कालीकोटका नौ स्थानीय तहको बेरुजु रकम हाल सम्म दुई अर्ब ९९ करोड ५२ लाख ८ हजार ४७२ रुपियाँ पुगेको छ ।
यो वर्षको बेरुजु सबैभन्दा बढी खाँडाचक्र नगरपालिकाको रहेको छ । खाँडाचक्र नगरपालिकाको बेरुजु रकम आर्थिक वर्ष २०८०-२०८१ को पाँच करोड ३३ लाख ७१ हजार २९९ रहेको छ ।
त्यसपछि दोस्रो स्थानमा महावै गाउँपालिका रहेको छ । महावै गाउँपालिकाको ३ करोड ८७ लाख ९४ हजार ४७८ रुपियाँ बेरुजु छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा बेरुजुको सङ्ख्या एकिन गरिएको छ । कालीकोटमा तेस्रो स्थानमा बेरुजु रहेको पालिका शुभकालिका गाउँपालिका रहेको छ । शुभकालिका गाउँपालिकाको बेरुजु रकम ३ करोड ३२ लाख ९६ हजार ७०२ रुपियाँ रहेको छ ।
यो वर्ष सबैभन्दा कम बेरुजु पलाँता गाउँपालिकाको रहेको छ पलाँताको एक करोड १२ लाख ३६ हजार ९७२ रुपियाँ छ । अघिल्लो आर्थिक वर्षको समेत जोड्दा पलाँता बेरुजुको सुचीमा अब्बल भए पनि आर्थिक वर्ष २०८०-०८१ मा भने बेरुजुको दर घटाएको छ । अघिल्ला आर्थिक वर्षको बेरुजु समेत जोड्दा सबै भन्दा अगाडी पहिलो नम्बर सान्नीत्रिवेणी गाउँपालिका रहेको छ ।
सान्नीत्रिवेणीको जम्मा बेरुजु ३१ करोड ५४ लाख, ५१ हजार ४०९ रुपियाँ रहेको छ । शान्नीत्रिवेणी पछि पलाँता गाउँपालिका रहेको छ । पलाँताको ३१ करोड, २४ लाख ७५ हजार ३९२ रुपियाँ बेरुजु छ । तेस्रो नम्बरमा आर्थिक वर्ष २०८०-०८१ मा पाँच करोड भन्दा बढी बेरुजु भएको खाँडाचक्र नगरपालिकाको जम्मा बेरुजु भने तेस्रो नम्बरमा छ ।
खाँडाचक्रको जम्मा बेरुजु २७ करोड १२ लाख ५८ हजार ३१७ रुपियाँ रहेको छ । चौथो नम्बरमा २३ करोड ४९ लाख १५ हजार ४७८ रुपियाँ बेरुजु महावै गाउँपालिकाको रहेको छ । जम्मा बेरुजुमा पाँचौ नम्बरमा रास्कोट नगरपालिका रहेको छ । रास्कोटको जम्मा बेरुजु २१ करोड ४५ लाख १६ हजार ६५७ रुपियाँ रहेको छ ।
यस्तै पचालझरना गाउँपालिकाको जम्मा बेरुजु २१ करोड ३१ लाख ५८ हजार १३७ रुपियाँ छ भने सातौ नम्बर शुभकालिका गाउँपालिका रहेको छ । यसको बेरुजु २१ करोड १२ लाख ७० हजार ६९४ रुपियाँ छ । आठौ नम्बर नरहरिनाथ गाउँपालिक रहेको छ । नरहरिनाथ गाउँपालिकाको १९ करोड ३७ लाख ९२ हजार २२७ रुपियाँ र सबैभन्दा कम नौ नम्बरमा तिलागुफा नगरपालिका रहेको छ । तिलागुफा नगरपालिकाको बेरुजु फच्यौट गर्न बाँकी रकम १३ करोड २६ लाख ९० हजार १६१ रुपियाँ रहेको छ । यसरी बेरुजु थुपारिँदा पनि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीमा कुनै चिन्ता छैन ।